Banijya News

लेखा समितिको नेतृत्वका लागि प्रतिपक्षी दलहरूबीच साझा उम्मेदवार उठाउने तयारी

1
1.1K Shares

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज प्रतिपक्षी दलहरूको महत्त्वपूर्ण बैठक सुरु भएको छ। प्रतिनिधिसभाका विषयगत समितिहरू गठन भएको केही समय बितिसक्दा पनि सार्वजनिक लेखा समितिको नेतृत्व चयनमा कुरा नमिल्दा प्रतिपक्षी दलहरू साझा रणनीति बनाउन जुटेका हुन्।

बैठकमा विशेषगरी सार्वजनिक लेखा समितिको सभापतिमा विपक्षी दलहरूबाट एकजना साझा उम्मेदवार खडा गर्ने विषयमा घनिभूत छलफल भइरहेको छ। संसदीय अभ्यासमा लेखा समितिको सभापति विपक्षी दललाई दिने परम्परा रहे पनि यसपटक सत्तापक्षको तयारी फरक देखिएपछि प्रतिपक्षी मोर्चा सतर्क बनेको हो।

यसअघि चैत २७ गते प्रतिनिधिसभाका सबै समितिहरू गठन भएका थिए। सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिका सभापतिहरू चयनका लागि अग्रसरता देखाउँदै बैठक बोलाएको भए पनि लेखा समितिको नेतृत्वका विषयमा भने विवाद देखिएको छ। रास्वपाले सार्वजनिक लेखा समितिको सभापति ‘श्रम संस्कृति पार्टी’ लाई दिने बलियो सम्भावना देखिएपछि प्रमुख प्रतिपक्षी दलहरूले यसलाई संसदीय परम्परा विपरीतको कदमका रूपमा लिएका छन्। सोही कारण, आफ्नो दाबीलाई मजबुत बनाउन विपक्षी दलहरूले आपसी सहमतिमा उम्मेदवार टुङ्ग्याउने प्रयास थालेका हुन्।

उक्त महत्त्वपूर्ण बैठकमा नेकपा एमालेका तर्फबाट नेताहरू गुरु बराल र पदमा अर्याल सहभागी छन भने नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र युवराज दुलालको उपस्थिति रहेको छ। त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङदेम्बे र मोहन आचार्य बैठकमा सहभागी भई साझा धारणा बनाउन छलफल गरीरहेका छन । प्रतिपक्षी दलहरूको यो सक्रियताले आगामी दिनमा संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया थप पेचिलो बन्ने संकेत गरेको छ।

1

Scroll to Top