Banijya News

नेपालमा र्‍यान्समवेयरको बढ्दो जोखिम, सरकारद्वारा ‘हाइ अलर्ट’ जारी

1
1.1K Shares

नेपालका सूचना प्रविधि प्रणालीहरूमा पछिल्लो समय र्‍यान्समवेयर आक्रमणका घटनाहरू नाटकीय रूपमा बढेपछि नेपाल सरकारले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एक विशेष एडभाइजरी जारी गर्दै डिजिटल सुरक्षाका चुनौतीहरूका बारेमा सर्वसाधारण र विभिन्न संघ-संस्थाहरूलाई सचेत गराएको हो।

हालका दिनहरूमा डिजिटल उपकरण र महत्त्वपूर्ण डाटाहरूमा अनधिकृत पहुँच बनाएर फिरौती माग्ने आपराधिक प्रवृत्ति मौलाउँदै गएको पाइएको छ। र्‍यान्समवेयर यस्तो घातक मालवेयर हो जसले प्रयोगकर्ताको कम्प्युटर वा मोबाइलमा रहेका फाइलहरूलाई इन्क्रिप्ट गरी ‘लक’ गरिदिन्छ, जसले गर्दा प्रयोगकर्ताले आफ्नै डाटा चलाउन पाउँदैनन्।

यसरी डाटाहरू कब्जामा लिएपछि साइबर अपराधीहरूले ती फाइलहरू पुनः सुचारु गरिदिने बदलामा ठूलो रकम वा फिरौतीको माग गर्ने गर्दछन्। केन्द्रका अनुसार, यस्तो आक्रमणले व्यक्तिको गोपनीयता भङ्ग गर्दै, ठूला संस्थाहरूको सेवा प्रवाहलाई समेत पूर्ण रूपमा ठप्प पार्न सक्छ। यसबाट व्यक्तिगत र संस्थागत संवेदनशील सूचनाहरू चोरी हुने वा सार्वजनिक हुने उच्च जोखिम रहनुका साथै डाटाहरू फिर्ता पाउने आशमा अपराधीलाई फिरौती बुझाउँदा ठूलो आर्थिक नोक्सानी समेत व्यहोर्नुपर्ने हुन्छ। र्‍यान्समवेयरले फाइल मात्र नभई पूरै प्रणालीलाई नै काम नलाग्ने बनाइदिने भएकाले यसबाट जोगिनु नै सबैभन्दा सुरक्षित विकल्प रहेको केन्द्रले उल्लेख गरेको छ।

यस गम्भीर सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सरकारले नागरिकहरूलाई अपरिचित लिङ्कहरू नखोल्न र शङ्कास्पद इमेलका फाइलहरू डाउनलोड नगर्न विशेष आग्रह गरेको छ। आफ्ना डिजिटल उपकरणहरूको सुरक्षा प्रणाली र सफ्टवेयरलाई सधैँ अद्यावधिक राख्नुपर्नेमा जोड दिँदै सरकारले सुरक्षाका आधारभूत नियमहरू पालना गर्न सुझाएको छ।

विशेषगरी सरकारी तथा निजी कार्यालयहरूलाई आफ्ना महत्त्वपूर्ण डाटाहरूको नियमित ब्याकअप राख्न र साइबर सुरक्षाका न्यूनतम मापदण्डहरू कडाइका साथ पालना गर्न केन्द्रले निर्देशन दिएको छ। यस्तो सावधानीले सम्भावित साइबर हमलाबाट हुन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

1

Scroll to Top