Banijya News

अर्थमन्त्री वाग्ले-अमेरिकाका सहायक विदेश मन्त्री एस.पॉलबीच भेटवार्ता

1
1.1K Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी सहायक विदेश मन्त्री एस. पल कपुरबीच मंगलबार अर्थ मन्त्रालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। नयाँ सरकार गठनपछिको यो महत्वपूर्ण शिष्टाचार भेटमा दुई देशबीचको सहकार्य, लगानीका नयाँ सम्भावना र आपसी हितका विषयमा केन्द्रित रहेर संवाद भएको थियो।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल सरकारको मुख्य लक्ष्य सुशासन कायम गर्ने र आर्थिक क्षेत्रमा संरचनागत सुधार ल्याउनु रहेको स्पष्ट पार्नुभयो। उहाँले लगानीमा अवरोध पुर्‍याउने पुराना कानुनहरूलाई खारेज गर्दै मुलुकलाई लगानीमैत्री बनाउने सरकारी तयारीबारे जानकारी दिनुभयो। विशेषगरी पर्यटन, जलविद्युत (स्वच्छ ऊर्जा) र सूचना प्रविधिको क्षेत्रमा अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपालीहरूलाई निर्धक्क भएर लगानी गर्न उनले आग्रह गरे ।

अमेरिकी सहायक विदेश मन्त्री कपुरले नेपालको बदलिँदो राजनीतिक परिदृश्य र सरकारले अघि सारेका सुधारका योजनाहरूको प्रशंसा गरे । नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाउँदै उनले ‘यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन’ मार्फत नेपालको विकासमा साझेदारी गर्न अमेरिका इच्छुक रहेको बताए ।

मन्त्रालयमा भएको उक्त छलफलमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, मन्त्रालयका वरिष्ठ अधिकारीहरू र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट उरबोमको समेत उपस्थिति रहेको थियो। यस भेटले आगामी दिनमा दुई देशबीचको आर्थिक र कुटनीतिक सम्बन्धलाई थप मजवुत बनाउने विश्वास गरिएको छ।

1

Scroll to Top