नेपालका निर्जीवन बीमा कम्पनीहरूका लागि मर्जर (गाभ्ने-गाभिने) प्रक्रिया व्यवसाय विस्तार र पूँजीगत सुदृढीकरणका हिसाबले फलदायी देखिएको छ। नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणले मर्जरपछि कम्पनीहरूको व्यवसायमा उल्लेख्य सुधार आएको पुष्टि गरेको हो।
प्राधिकरणको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ३६ अर्ब ५८ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन्। यो उत्साहजनक व्यापारिक नतिजाले बीमा बजारमा मर्जरको सकारात्मक प्रभाव परेको संकेत गरेको छ।
पछिल्लो विवरण अनुसार नेपाली बीमा बजारमा शिखर इन्स्योरेन्सको बर्चस्व कायमै देखिएको छ। कुल १४ कम्पनीमध्ये शिखर इन्स्योरेन्स ४ अर्बको व्यापारिक सीमा कटाउने एक्लो कम्पनी बनेको छ। शिखरले चैत मसान्तसम्म २ लाख ३८ हजार ६ सय ६७ वटा बीमालेख जारी गर्दै ४ अर्ब ८० करोड १२ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। शिखरसहित कुल ६ वटा कम्पनीहरू ३ अर्ब भन्दा माथिको व्यवसाय गर्न सफल भएका छन्। यसरी ३ अर्ब माथिको व्यापार गर्ने अन्य कम्पनीहरूमा सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स रहेका छन्।
व्यवसायका आधारमा दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ९ महिनाको अवधिमा २ लाख १ हजार ८३८ बीमालेख मार्फत ३ अर्ब ८३ करोड २३ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब ७४ करोड ३० लाख ५२ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दै तेस्रो स्थानमा सुरक्षित देखिएको छ। अन्य कम्पनीहरू मध्ये सिद्धार्थ प्रिमियरले ३ अर्ब १२ करोड ९ लाख, आइजीआई प्रुडेन्सियलले ३ अर्ब १० करोड ३३ लाख र एनएलजी इन्स्योरेन्सले ३ अर्ब १ करोड ५ लाख रुपैयाँको व्यवसाय गरेका छन्।
बीमालेख बिक्री (पोलिसी संख्या) का आधारमा भने युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा आक्रामक देखिएको छ। यस कम्पनीले समीक्षा अवधिमा सबैभन्दा धेरै ३ लाख ५३ हजार ७ सय ३८ वटा बीमालेख जारी गरेको छ, यद्यपि यसको कुल व्यवसाय भने २ अर्ब ५६ करोड ४६ लाख ६७ हजार रुपैयाँमा सीमित देखिएको छ। यो तथ्याङ्कले कम्पनीले साना दरका बीमालेख बिक्रीमा बढी जोड दिएको बुझिन्छ। बाँकी ८ कम्पनीहरूको व्यवसाय ३ अर्ब भन्दा कम रहेको छ।
बजारको अन्तिममा भने नेसनल इन्स्योरेन्स देखिएको छ, जसको व्यवसाय १ अर्ब भन्दा पनि कम रहेको छ। यस्तै, सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोडको व्यापार गर्दा नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड ९१ लाख, सानिमा जीआईसीले २ अर्ब ८ करोड १९ लाख र दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ आर्जन गरेका छन्। नेपाल इन्स्योरेन्स कम्पनीले भने १ अर्ब ६६ करोड ८६ लाख रुपैयाँको व्यवसाय गरेको छ। समग्रमा, ९ महिनाको अवधिमा जारी भएका २२ लाख ९ हजार ९८६ वटा बीमालेखले बीमाप्रतिको जनविश्वास र पहुँच बढ्दै गएको र मर्जरपछि कम्पनीहरू बलियो बन्दै गएको देखिएको छ।


