राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले स्थानीय सरकारको कर प्रणाली र सुकुम्वासी समस्या समाधानमा भइरहेको हेलचेक्र्याइँप्रति कडा टिप्पणी गरेका छन । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहले स्रोत जुटाउने नाममा उत्पादनलाई नै असर गर्ने गरी अव्यावहारिक कर थोपरिरहेको आरोप बताए। विशेषगरी कृषि क्षेत्रमा सहुलियत दिनुको सट्टा कुखुरा, चल्ला र अण्डामा समेत कर लगाउने नीतिले उत्पादनलाई निरुत्साहित गर्ने भन्दै उनले यस्ता कर प्रणाली संघीय कृषि नीतिसँग मेल खाने र न्यायपूर्ण हुनुपर्नेमा जोड दिए ।
सुकुम्वासी समस्याका बारेमा चर्चा गर्दै पराजुलीले विगत ३७ वर्षदेखि विभिन्न आयोग बनाएर कार्यकर्तालाई जग्गा बाँड्ने र भोटको राजनीति गर्ने बाहेक ठोस काम नभएको बताए । अब भोटका लागि जनतालाई भ्रममा राख्ने समय सकिएको उल्लेख गर्दै उहाँले संघीय र स्थानीय सरकारबीच समन्वय गरी वास्तविक पीडितलाई न्याय दिनुपर्ने धारणा राखे । उनले रास्वपाले आफ्नो पाँच वर्षको कार्यकालमा सुशासन र समृद्धिको बलियो जग बसाल्ने प्रतिबद्धता समेत दोहोर्याए l
पराजुलीले पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि पनि तिखो प्रहार गरे l विगतका नेतृत्वले व्यवस्था परिवर्तनको ‘ब्याज’ मात्र खाएको तर अवस्था सुधारमा ध्यान नदिएको उनको तर्क थियो। “यदि पुराना नेताहरूले जनताको मर्म बुझिदिएको भए यो नयाँ पुस्ता आफ्नो पेसा र व्यवसाय छोडेर राजनीतिमा आउनुपर्ने थिएन,” उनले भने । रास्वपा भ्रष्टाचार नियन्त्रणको मूल मन्त्रसहित मैदानमा उत्रिएको दाबी गर्दै उनले आफूहरू कुनै लहडमा नभई जनताको स्पष्ट अभिमतका साथ आएको बताए ।
स्थानीय तहमा हुने राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकताप्रति पनि उनले चिन्ता व्यक्त गरे । संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत कुनै दलको झण्डा बोक्ने कार्यकर्ता हुनु नहुने भन्दै उनले कर्मचारी संयन्त्रमा राजनीतिक रङ मिसाउँदा लुटतन्त्र मौलाएको उल्लेख गरे । उनले अब अनुभवी अग्रजहरूको सुझाव र युवा पुस्ताको जोशलाई मिलाएर मात्र समृद्ध राष्ट्र निर्माण सम्भव हुने विश्वास व्यक्त गरे ।


