कोसी प्रदेशमा इन्धन र निर्माण सामग्रीको अनियन्त्रित मूल्यवृद्धिका कारण विकास निर्माणका कार्यहरू ठप्प हुने स्थिति आएको भन्दै निर्माण व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। निर्माण व्यवसायी महासंघ कोसी प्रदेशको प्रतिनिधिमण्डलले सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारलाई भेटेर निर्माण क्षेत्रमा देखिएको चरम संकटका बारेमा जानकारी गराउँदै तत्काल निकास खोज्न आग्रह गरेको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा डिजेल र पेट्रोलको मूल्य आकासिएको र त्यसले ढुवानीदेखि मेसिनरी सञ्चालनसम्मको खर्च अत्यधिक बढाएको व्यवसायीहरूको गुनासो छ। विशेषगरी ८० रुपैयाँ किलोमा पाइने बिटुमिनको मूल्य १९० रुपैयाँ पुग्नु र बालुवा-गिटीको मूल्यमा भारी वृद्धि हुनुले आयोजनाहरू अघि बढाउनै नसकिने अवस्था सिर्जना भएको छ।
महासंघका प्रदेश अध्यक्ष जनसेवक भण्डारीका अनुसार, मूल्यवृद्धिकै कारण प्रदेशभरको निर्माण कार्य हाल २० प्रतिशतमा खुम्चिएको छ। व्यवसायीहरूले नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकले बजारको वास्तविक स्थितिलाई नसमेटेको भन्दै ठेक्का सम्झौतामा ‘मूल्य समायोजन’ को व्यवस्था गर्नुपर्ने माग राखेका छन्। सरकारी आश्वासनका बाबजुद बैंक ग्यारेन्टी, बीमा र म्याद थपजस्ता कानुनी तथा प्राविधिक जटिलताहरू सुल्झिन नसक्दा सानादेखि राष्ट्रिय गौरवका आयोजनाहरूसम्म प्रभावित भएका छन्। ज्ञापनपत्रमा व्यवसायीहरूले सरकारको ठोस नीतिगत हस्तक्षेप नभए निर्माण उद्योग नै धराशायी हुने चेतावनी समेत दिएका छन्।
व्यवसायीहरूको समस्या सुन्दै मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्रको संकटले समग्र अर्थतन्त्र र पूर्वाधार विकासलाई प्रत्यक्ष असर गर्ने भन्दै यस विषयमा सरकार गम्भीर रहेको बताए । उनले व्यवसायीले उठाएका मागहरूलाई प्राथमिकताका साथ अध्ययन गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री सुनुवारले पनि विकास निर्माणमा देखिएका अवरोधहरू हटाउन र व्यवसायीका समस्या सम्बोधन गर्न मन्त्रालयले सक्दो प्रयास गर्ने आश्वासन दिए । दुई महिनादेखि समाधानको पर्खाइमा रहेका व्यवसायीहरूले भने अब आश्वासन मात्र नभई व्यवहारिक निर्णयको अपेक्षा गरेका छन्।


