राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र सम्पत्ति शुद्धीकरणको गम्भीर आरोपमा विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। पर्वत स्थायी घर भई हाल बुढानीलकण्ठ बस्ने पौडेल दम्पतीले ठूलो परिमाणमा विदेशी मुद्राको अवैध कारोबार गरी राज्यलाई हानी पुर्याएको विभागको अनुसन्धानले ठहर गरेको हो ।
विभागले विस्तृत अनुसन्धानपछि दुवैविरुद्ध छुट्टाछुट्टै बिगो कायम गर्दै कुल ६८ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको दाबी पेश गरेको छ। जसमा विकल पौडेललाई ६१ करोड १३ लाख र उनकी पत्नी एलिनालाई ७ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ। सुरुमा ६२ करोड ६५ लाख रुपैयाँ बिगो अनुमान गरिए पनि सम्पत्ति शुद्धीकरण ऐन, २०६४ अनुसार गहिरो अनुसन्धान गर्दा रकम अझ बढेको विभागले जनाएको छ।
जिल्ला सरकारी वकिल कार्यालयमार्फत २०८३ वैशाख १६ गते दर्ता गरिएको उक्त अभियोग पत्रमा विभागले बिगोको दोब्बर जरिवाना, कैद सजाय र अवैध रूपमा आर्जित सम्पूर्ण सम्पत्ति जफत गर्न मागदाबी गरेको छ। यो मुद्दालाई पछिल्लो समयको ठूलो आर्थिक अपराधको रूपमा हेरिएको छ।


