Banijya News

बीमा कम्पनीका संस्थापक शेयरधनीसँग विभागले माग्यो अतिरिक्त लगानीको विवरण

1
1.0K Shares

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको संलग्नता रहेको हिमालयन रिइन्स्योरेन्ससहित आठवटा बीमा कम्पनीको लगानीमाथि सूक्ष्म अनुसन्धान थालेको छ। विभागले एक सार्वजनिक सूचना जारी गर्दै हिमालयन रिइन्स्योरेन्स र अन्य सातवटा लघु बीमा (माइक्रो इन्स्योरेन्स) कम्पनीका संस्थापक शेयरधनीहरूलाई आफ्नो लगानीको विस्तृत स्रोत खुलाउन १५ दिनको समयसीमा दिएको हो। अनुसन्धानको घेरामा नेपाल माइक्रो, गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, प्रोटेक्टिभ, स्टार माइक्रो र ट्रस्ट माइक्रो इन्स्योरेन्स रहेका छन्।

विशेषगरी यी कम्पनीहरूले नेपाल बीमा प्राधिकरणबाट सञ्चालन अनुमति (लाइसेन्स) लिने प्रक्रियामा ठूलो परिमाणमा आर्थिक चलखेल भएको आशङ्का विभागले गरेको छ। संस्थापक शेयरधनीहरूले शेयर खरिद गर्दा तोकिएको चुक्ता पुँजीबाहेक थप ‘अतिरिक्त शुल्क’ विभिन्न व्यक्ति वा संस्थाको बैंक खातामा जम्मा गरेको सूचना प्राप्त भएपछि विभागले प्रमाण माग गरेको हो। विभागले लगानीकर्ताहरूलाई उनीहरूले भुक्तानी गरेको रकम, प्राप्त गर्ने व्यक्तिको विवरण र सम्बन्धित बैंक खाता नम्बरसहितका सत्यतथ्य विवरण तोकिएको समयभित्र बुझाउन निर्देशन दिएको छ।

1

Scroll to Top