होटल एसोसिएसन नेपाल (हान) ले भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यका साथ भारतमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको ६५ सदस्यीय नेपाली पर्यटन प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा आयोजना गरेको विशेष प्रवर्द्धन कार्यक्रममा २५ भन्दा बढी सेवा सम्झौताहरू सम्पन्न भएका छन्। “गर्मीमा नेपाल” भन्ने अवधारणाका साथ प्रस्तुत गरिएको यस योजनाले भारतीय पर्यटकहरूलाई नेपालको शितल मौसम र स्तरीय पर्यटकीय सुविधातर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ। नेपाल पर्यटन बोर्ड र दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा आयोजित यस कार्यक्रमले दुई देशका पर्यटन व्यवसायीहरूबीच सम्बन्ध सुदृढ बनाउने नयाँ ढोका खोलेको छ।
उक्त अवसरमा आयोजित बिटुबी बैठकमा ५० भन्दा बढी नेपाली तारे होटल तथा रिसोर्टका प्रतिनिधिहरूले १०० भन्दा बढी भारतीय पर्यटन व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गरेका थिए। भारतीय पर्यटन क्षेत्रका हस्तीहरू—होटल एसोसिएसन अफ इन्डिया, फेडेरेसन अफ होटल एन्ड रेस्टुरेन्ट एसोसिएसन अफ इन्डिया, र इन्डियन वेडिङ इन्डस्ट्री एसोसिएसनका प्रतिनिधिहरूले नेपालमा गन्तव्य विवाह , आरोग्य पर्यटन , र सभा-सम्मेलनका लागि उच्च सम्भावना रहेको औंल्याएका छन्। विशेष गरी भारतीय मध्यम र उच्च वर्गका लागि नेपाल एक सुरक्षित, सुलभ र उत्कृष्ट पारिवारिक बिदा मनाउने गन्तव्यको रूपमा स्थापित हुँदै गएको सो क्रममा चर्चा गरिएको थियो।
वर्तमान विश्व परिस्थिति र बढ्दो हवाई भाडाका कारण पनि भारतीय पर्यटकहरूका लागि नेपाल पहिलो रोजाइमा पर्न थालेको देखिन्छ। मध्यपूर्वमा जारी तनाव र लामो दूरीको यात्रा महँगो हुँदै जाँदा छिमेकी मुलुक नेपालको सहज पहुँच र प्राकृतिक सौन्दर्य भारतीयहरूको लागि भरपर्दो विकल्प बनेको छ। पदयात्रा, संस्कृति र साहसिक पर्यटनमा रुचि राख्ने भारतीय युवा पुस्तालाई लक्षित गर्दै नेपाली प्रतिनिधिमण्डलले विभिन्न प्याकेजहरू प्रस्तुत गरेको थियो। यस किसिमका रणनीतिक सहकार्य र सम्झौताहरूले आगामी सिजनमा नेपाल आउने भारतीय पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुने र नेपालको सुस्ताएको पर्यटन क्षेत्रलाई नयाँ गति दिने विश्वास होटल व्यवसायीहरूले व्यक्त गरेका छन्।


