Banijya News

नेशनल लाइफद्वारा आन्तरिक पर्यटन प्रवर्द्धनसँगै सौराहामा क्रुज सफारी सम्पन्न

1
1.0K Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र आफ्ना उत्कृष्ट अभिकर्ताहरूको मनोबल उच्च राख्ने उद्देश्यले चितवनको सौराहास्थित होटल सेभेन स्टारमा एक विशेष मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आयोजना गरेको ुनारायणी क्रुज सफारीु कार्यक्रम अन्तर्गत अभिकर्ताहरूले २ रात ३ दिनको आनन्ददायी यात्राको अवसर प्राप्त गरेका छन्। यस किसिमका कार्यक्रमले एकातिर आन्तरिक पर्यटनमा टेवा पुर्याउँछ भने अर्कोतिर अभिकर्ताहरूलाई आफ्नो कार्यक्षेत्रमा थप ऊर्जाशील बन्न उत्प्रेरित गर्दछ।

‘संस्कृति, सौहार्द र सयरको संगम’ मूल नाराका साथ २०८२ सालको फागुन र चैत महिनामा सञ्चालित मासिक योजनामा उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको थियो। देशैभरबाट उत्कृष्ट व्यवसाय गरेर छनोटमा पर्न सफल ३५४ जना वरिष्ठ अभिकर्ता, कम्पनीका एजेन्सी विभाग प्रमुख र विभिन्न शाखाका शाखा प्रमुखहरूको सहभागिताले कार्यक्रमलाई निकै भव्य बनाएको थियो। सहभागिताको यो ठूलो संख्याले कम्पनीको व्यवसाय विस्तार र अभिकर्ताहरूको आपसी सहकार्यलाई समेत बलियो बनाएको छ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्न चर्चित इन्द्रेणी ग्रुपका सञ्चालक तथा कलाकारहरूले आकर्षक लोकदोहोरी र नृत्य प्रस्तुत गरेका थिए। सोही अवसरमा नेपालकै पहिलो नारायणी क्रुजमा गरिएको जलयात्राले सहभागीहरूलाई नौलो र अविस्मरणीय अनुभव दिलाएको थियो। यस्ता कार्यक्रमले अभिकर्ताहरूलाई मानसिक रूपमा ताजगी प्रदान गर्नुका साथै विभिन्न क्षेत्रका सहकर्मीहरूसँग अनुभव आदानप्रदान गर्ने र नेटवर्किङ बढाउने उत्कृष्ट मञ्चसमेत प्रदान गरेको छ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीको यस प्रकारको प्रोत्साहनमूलक पहलप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले यस्ता भ्रमणले मनोरञ्जनका साथै आफ्नो व्यावसायिक वृत्ति विकासमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। बीमा क्षेत्रमा प्रतिस्पर्धात्मक रूपमा काम गरिरहेका अभिकर्ताहरूलाई यस्ता कार्यक्रमले नयाँ ऊर्जा दिने र कम्पनी तथा अभिकर्ताबीचको सम्बन्ध अझ प्रगाढ हुने देखिन्छ।

1

Scroll to Top