यस साता नेपाली चलचित्र बजारमा एकै दिन तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजअन्तर्गत आजदेखि ‘लालीबजार’, ‘मालतीको मंगले’ र ‘गुरुआमा’ देशभरका हलमा प्रदर्शन सुरु भएका हुन्। फरक–फरक विषयवस्तु र शैलीका यी चलचित्रबीच अहिले दर्शक तान्ने प्रतिस्पर्धा देखिएको छ।
तीनमध्ये सबैभन्दा बढी चर्चा ‘लालीबजार’ले पाएको छ। अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको यो चलचित्रले देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा सबैभन्दा धेरै शो प्राप्त गरेको छ। सुरुमा वैशाख १८ गते रिलिज गर्ने तयारी गरिए पनि अदालतमा परेको रिटका कारण यसको प्रदर्शन केही समय पछि सरेको थियो। अन्ततः चलचित्र आजबाट औपचारिक रूपमा प्रदर्शनमा आएको हो।
‘लालीबजार’ बादी समुदायको जीवन र सामाजिक यथार्थमा आधारित चलचित्र हो। यसलाई यम थापाले निर्देशन गरेका हुन्। कथा पनि निर्देशक थापाकै रहेको छ भने पटकथा यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका छन्। चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माणमा रवीन्द्र सिंह बानियाँ र दिपेश खत्री रहेका छन्। सामाजिक विषयवस्तुका कारण चलचित्रप्रति दर्शकमाझ उत्सुकता देखिएको छ।
आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘मालतीको मंगले’ पनि दर्शकमाझ चर्चामा छ। विजय बराल र वर्षा राउत मुख्य भूमिकामा रहेको यो चलचित्र ग्रामीण परिवेश र पारिवारिक कथामा आधारित रहेको बताइएको छ। चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। कथा निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका छन्।
चलचित्रमा विजय बराल र वर्षा राउतसँगै मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको छ। यस फिल्मका निर्माता चर्चित गायक रामकृष्ण ढकाल हुन्। क्यूएफएक्समा शो संख्याका आधारमा ‘मालतीको मंगले’ दोस्रो स्थानमा रहेको छ।
त्यस्तै, ‘गुरुआमा’ पनि आजदेखि प्रदर्शनमा आएको अर्को नेपाली चलचित्र हो। प्रेम सोनी सुनारद्वारा निर्देशित यो चलचित्रमा अभिनेत्री मिथिला शर्मा र अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन्। पारिवारिक र सामाजिक कथावस्तुमा आधारित चलचित्रले पनि दर्शकको ध्यान खिच्ने प्रयास गरिरहेको छ।
क्यूएफएक्ससहितका मल्टिप्लेक्स हलमा ‘गुरुआमा’ले तुलनात्मक रूपमा कम शो पाए पनि निर्माण टिमले सकारात्मक प्रतिक्रिया आउने विश्वास व्यक्त गरेको छ।
एकै दिन तीन नेपाली चलचित्र रिलिज हुँदा हलमा नेपाली फिल्मको चहलपहल बढेको छ। पछिल्लो समय नेपाली चलचित्रले विविध विषय उठाउन थालेसँगै दर्शकको चासो पनि विस्तारै बढ्दै गएको देखिन्छ। अब यी तीन चलचित्रमध्ये कुनले दर्शकको मन जित्छ र बक्स अफिसमा राम्रो व्यापार गर्छ भन्ने चासो फिल्म वृत्तमा बढेको छ।


