Banijya News

बुद्धभूमि हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

1
1.0K Shares

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आज (वैशाख २८ गते)सम्म आवेदन दिन सकिनेछ । बुद्धभूमिले चैत २२ गतेदेखि हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । अर्थात् कम्पनीले हाल कायम १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । यस अनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो । यसअनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले बिक्री प्रबन्धकका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत् गृह रहेको स्थान थप्रेक, नुवाकोट र एनआईसी एशिया बैङ्कको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन गरी सङ्कलन भएको रकम कम्पनीले आयोजना सञ्चालनका लागि लिएको ऋणहरुको आंशिक भुक्तानी गर्न प्रयोग गर्नेछ । हाल कम्पनीको सिद्धार्थ बैङ्क, माछापुच्छ्रे बैङ्क, ग्लोबल आइएमई बैङ्क र कुमारी बैङ्क गरी चारवटा बैङ्कमा कुल ९६ करोड ९० लाखा ९१ हजार ६०९ रुपैयाँ ऋण बाँकी छ । हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमबाट भुक्तानी गरेपश्चात कम्पनीको ऋण ५६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँ बाँकी रहनेछ ।

1

Scroll to Top