कामना सेवा विकास बैंक लिमिटेडले समावेशी बैंकिङलाई प्रवद्र्धन गर्दै दृष्टीविहीन व्यक्तिहरुलाई बैंकिङ पहुँचसँग जोड्ने उद्देश्यका साथ वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । सर्वोदयसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दृष्टीविहीन व्यक्तिहरुलाई वित्तीय साक्षरताको उद्देश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरी जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोबार, डिजिटल ठगीलगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गरेका थिए । कार्यक्रममा बैंकिङ कारोबारका क्रममा आवश्यक पर्ने हस्ताक्षरसम्बन्धी व्यवहारिक अभ्यास गराउँदै सहभागीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गरिएको थियो । उक्त तालिमले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ प्रक्रिया सहज रूपमा प्रयोग गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सर्वोदयका अध्यक्ष युवराज वाग्लेले दृष्टीविहीनहरुलाई कामना सेवा विकास बैंकले समावेशी बैंकिङतर्फ गरिएको पहल तथा हस्ताक्षर तालिमप्रति खुशी व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताएका छन् । सर्वोदयकै सौगात वाग्लेले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरी सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताए ।
कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गरेर ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने दृष्टिविहीनहरूले अन्य व्यक्तिहरूले जस्तै मोबाइल बैंकिङ, एटीएम कार्डलगायतका सुविधाहरू प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले उक्त खाता खोल्नका लागि दृष्टिविहीन भएको कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कुनै साक्षी आवश्यक नपर्ने र खाता सञ्चालनसम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराउँदै आएको जनाएको छ । साथै, बैंकले तालिमलाई आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाउँदै दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


