आज मङ्गलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिन बढेको नेप्से आज भने घटेर बन्द भएको हो । आज नेप्से परिसूचक ३९.४४ अंक घटेर २७४४.४० विन्दुमा झरेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो । आज मङ्गलबार ३३८ स्टकको कारोबार हुँदा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य १९५ रुपैयाँ बढेर १ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ । यस दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.४० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १८ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम १७ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३३ प्रतिशत घटेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।


