तारकेश्वर नगरपालिका निवासी एक उपभोक्ता माउन्टेन ड्यु पिउनासाथ बान्ता भई बिरामी परेको घटना सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादक कम्पनीमाथि कडा निगरानी तथा कारबाही प्रक्रिया अघि बढाएको छ।
सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियो भाइरल भएपछि विभागको ‘¥यापिड रेस्पोन्स टिम’ तत्काल सक्रिय भई माउन्टेन ड्यु उत्पादन गर्ने बरुण बेभरेज (नेपाल) प्रालिमा अनुगमन गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उपभोक्ताले सेवन गरेको पेय पदार्थ २५० मिलिलिटरको माउन्टेन ड्यु भएको र यसको ब्याच नम्बर १६८ तथा उत्पादन मिति ०३÷०४÷२६ रहेको पुष्टि गरिएको विभागले जनाएको छ।
अनुगमन टोलीले उद्योगको गोदाम निरीक्षण गर्दा सोही ब्याचको केवल १ क्रेट (२४ बोतल) मात्र मौज्दात रहेको र बाँकी उत्पादन यसअघि नै बजारमा वितरण भइसकेको पाइएको छ। यसले गर्दा उक्त ब्याचका उत्पादनहरू उपभोक्तासम्म व्यापक रूपमा पुगिसकेको आशंका गरिएको छ।
उक्त घटनालाई गम्भीर रूपमा लिँदै विभागले सोही ब्याचमा गुणस्तरसम्बन्धी समस्या हुनसक्ने आशंकामा गोदामबाट नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ। प्रयोगशालाबाट प्राप्त हुने अन्तिम प्रतिवेदनका आधारमा थप कारबाही तय गरिने विभागले स्पष्ट पारेको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार विभागले बरुण बेभरेज (नेपाल) प्रालिलाई उक्त ब्याच उत्पादनमा प्रयोग भएका कच्चापदार्थको विस्तृत विवरण, उत्पादन प्रक्रिया, तथा गुणस्तर नियन्त्रणसम्बन्धी सम्पूर्ण अभिलेख पाँच दिनभित्र पेस गर्न निर्देशन दिएको छ।
यससँगै विभागले कम्पनीलाई प्रयोगशालाको अन्तिम नतिजा नआएसम्म ब्याच नम्बर १६८ का कुनै पनि उत्पादन बजारमा बिक्री वितरण नगर्न कडा निर्देशन दिएको छ। साथै, उक्त जानकारी सम्बन्धित डिलर तथा वितरकहरूलाई तुरुन्त उपलब्ध गराउन पनि भनिएको छ।
घटनापछि उपभोक्ताहरूमा पेय पदार्थको गुणस्तरप्रति चासो बढेको छ भने विभागले उपभोक्तालाई शंकास्पद खाद्य तथा पेय पदार्थ सेवन नगर्न र यस्ता घटना देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ। साथै, बजारमा रहेका अन्य उत्पादनहरूको पनि निगरानी बढाइएको विभागले जनाएको छ।
यस घटनाले खाद्य तथा पेय पदार्थ उद्योगमा गुणस्तर नियन्त्रण र उपभोक्ता सुरक्षाको विषय पुनः चर्चामा ल्याएको छ।


