Banijya News

बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने खालको आएको छ : अध्यक्ष पाण्डे

1
1.1K Shares

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको बजेटले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटले निजी क्षेत्रको मनोबल बढाउने र सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य लिएको उल्लेख गरे।

उनका अनुसार पछिल्ला केही वर्षदेखि उपभोग्य वस्तुको माग घट्दै गएको अवस्थामा बजेटले बजारमा माग वृद्धि गराउने कार्यक्रम ल्याएको छ। “अहिले बजारमा माग बढ्न नसकेको अवस्था छ,” उनले भने, “तर बजेटमा समावेश कार्यक्रमहरूले यसलाई सम्बोधन गर्ने देखिन्छ, जसले अर्थतन्त्रलाई पुनः गतिशील बनाउनेछ।”

अध्यक्ष पाण्डेले विशेषगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विभिन्न नीतिगत सुधारहरूलाई सकारात्मक रूपमा लिएका छन्। सरकारले २६० प्रकारका वस्तुमा अन्तशुल्क हटाउने निर्णय गरेको उल्लेख गर्दै उनले यसले व्यवसाय सञ्चालन लागत (कस्ट अफ बिजनेस) घटाउने र उद्योग–व्यवसायलाई राहत दिने बताए।

त्यस्तै, उद्योग परिसंघले लामो समयदेखि माग गर्दै आएको आयकर ऐनको दफा ५७ संशोधन बजेटमा समावेश हुनु स्वागतयोग्य रहेको उनले बताए। उनका अनुसार यसले कर प्रणालीलाई थप स्पष्ट र व्यवहारिक बनाउनुका साथै व्यवसाय विस्तारका क्रममा देखिने जटिलता कम गर्नेछ।

पाण्डेले कर विवाद समाधान तथा लगानीसँग सम्बन्धित दर्जनौँ कानुन संशोधन गर्ने सरकारको पहलले निजी क्षेत्रलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। “यी सुधारहरूले लगानी वातावरण सुधार्ने र नयाँ व्यवसाय सुरु गर्न सहज बनाउनेछन्,” उनले भने।

औद्योगिक क्षेत्रको विकासतर्फ बजेटले उठाएका कदमहरू पनि सकारात्मक रहेको उनको भनाइ छ। विशेषगरी मोतिपुर र मयुरधाम जस्ता औद्योगिक क्षेत्रको निर्माण तथा सञ्चालन निजी क्षेत्रलाई दिने प्रस्ताव उद्योगीहरूले लामो समयदेखि उठाउँदै आएको विषय भएको उनले बताए। “यो हाम्रो प्रमुख मागमध्ये एक थियो, जसलाई बजेटले सम्बोधन गरेको छ,” उनले उल्लेख गरे।

यसैगरी, वन, खानी तथा प्राकृतिक स्रोतमा आधारित उद्योगहरू प्रवद्र्धन गर्ने सरकारको नीति उत्पादनमूलक उद्योग विस्तारका लागि महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे। यसले आयात प्रतिस्थापनमा सहयोग पु¥याउनुका साथै देशभित्रै रोजगारी सिर्जना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

यद्यपि, बजेटले सबै माग सम्बोधन गर्न नसकेको भन्दै उनले केही विषयमा असन्तुष्टि पनि व्यक्त गरे। विशेषगरी भारत लगायतका देशबाट आयात हुने वस्तुमा गुणस्तर मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने उद्योगीहरूको माग बजेटमा नसमेटिएको उनले बताए। “गुणस्तर मापदण्ड लागू नहुँदा स्वदेशी उद्योगहरू प्रतिस्पर्धामा कमजोर हुन्छन्,” उनले भने।

1

Scroll to Top