इन्टरनेट सेवा प्रदायक कम्पनी टि.पि. लिंक नेटवर्क प्रालिको अनुमति पत्र खारेज भएको छ । पोखरामा आधारित रहेर इन्टरनेट सेवा दिँदै आएको उक्त कम्पनीले तोकिएको समयावधिभित्र नवीकरण नगरेकाले अनुमतिपत्र खारेज भएको हो ।
जेठ ६ गतेसम्म अनुमति पत्र रहेको अवधिभित्र नवीकरण गरिसक्नुपर्नेमा कम्पनीले अनुमति पत्र नवीकरणको लागि आवेदन नै नगरेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्वतः रद्द गरेको हो । टि.पि. लिंक नेटवर्क प्रा.लि. को अनुमति पत्र स्वतः खारेज भएको सूचना नियामक निकायले प्रकाशित गरिसकेको छ ।
टि.पि. लिंक नेटवर्क कम्पनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद) झविलाल डुम्रेको समेत लगानी रहेको छ । सांसद डुम्रेले आफ्नो फेसबुक प्रोफाइलमा समेत उक्त कम्पनीको सीईओ अर्थात् प्रमुख कार्यकारी अधिकृतको रुपमा हालसम्म कार्यरत रहेको उल्लेख गरेका छन् ।
२०७३ जेठ ७ गते कास्कीमा आधारित रहेर इन्टरनेट सेवाको अनुमतिपत्र लिएको टिपि लिंक नेटवर्कले त्यस बेला पोखरा, पाल्पा, स्याङ्जा, पर्वत, तनहुँसहित दाङको तुल्सीपुरसम्म सेवा दिएको थियो । टिपी लिंकका प्रमुख सञ्चालकमा दामोदर डुम्रे छन् भने सीईओमा सांसद डुम्रे कार्यरत रहेको देखिन्छ । दामोदर र झविलाल दाजुभाई हुन् ।
कम्पनीसँग गत वर्षदेखिको मात्र बाँकी रहेको प्राधिकरणले जनाएको छ । उक्त सरकारी बक्यौता अनुमति पत्र खारेज भएपनि तिर्नुपर्ने हुन्छ र सो बेहोरासहितको जानकारी प्राधिकरणले सूचनामार्फत दिएको छ ।
नियामकका अनुसार कम्पनीले नियमितरुपमा नै गत वर्षसम्म प्रक्रिया पूरा गरेको र आवश्यक दस्तुरहरु पनि बुझाउँदै आएको थियो । तर, उक्त कम्पनीले अनुमति पत्र नवीकरणका लागि सबै प्रक्रिया पूरा गरे पनि ढिलो हुँदा समस्या भएको बताएको छ । अहिले इन्टरनेट सेवाको अनुमति पत्र नलिए पनि कम्पनी सञ्चालनमा नै रहेको र अन्य व्यवसाय गरिरहेको बुझिएको छ ।


