नेपाल र चीनबीचको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन् ।
यस नाकाबाट खासगरी तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, हाइड्रोपावरका उपकरण तथा विद्युतीय सवारीसाधनलगायत वस्तु आयात हुँदै आएका छन् ।
भन्सार कार्यालयका अनुसार यस अवधिमा नेपालबाट भने करिब ९० करोड मूल्य बराबरका वस्तु निर्यात भएको छ । उक्त नाकाबाट हुने आयात तथा निर्यातबाट चालु आर्थिक वर्षको हालसम्म १० अर्ब ८० करोड राजस्व संकलन भएको विवरण छ ।
यसैबीच, पछिल्लो समय विद्युतीय सवारीसाधनको जाँच पासका सम्बन्धमा उठेका प्रश्नबारे निमित्त प्रमुख विक भन्छन्, ‘प्रचलित भन्सार ऐन तथा नियमावलीले पैठारीकर्तालाई अग्रिम रूपमा राजस्व बुझाउने सुविधा दिएको छ ।’ उनले तोकिएको प्रक्रियाअनुसार राजस्व संकलन भएकाले राज्यलाई कुनै आर्थिक हानि–नोक्सानी नभएको स्पष्ट पारे ।
रसुवागढी नाका प्राचीनकालदेखि नै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक मार्गका रूपमा परिचित रहँदै आएको छ । त्यसताका व्यापारीले यही मार्ग प्रयोग गरी नुन, ऊन, जडीबुटी तथा अन्य सामग्रीको कारोबार गर्ने गरेको इतिहास छ । आधुनिक सडक सञ्जाल विस्तारसँगै रसुवागढी नाका अन्तरराष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्र बनेको हो ।


