Banijya News

बजेट लगत्तै घट्यो सुजुकी ई–भिटाराको मूल्यमा १ लाखको गिरावट

1
1.0K Shares

 नेपाल सरकारद्वारा विद्युतीय सवारीसाधन (ईभी) मा लाग्ने भन्सार महसुल तथा कर संरचनामा गरिएको संशोधनपछि सीजी मोटोकर्पले सुजुकी ई-भिटाराका सबै भेरियन्टको मूल्य घटाएको छ।

नेपालका लागि सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्पले तत्काल प्रभावबाट ई-भिटाराका चारवटै भेरियन्टमा १ लाख रुपैयाँसम्म मूल्य कटौती गरेको जनाएको छ। कम्पनीका अनुसार सरकारले प्रदान गरेको कर सहुलियतको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्‍याउने उद्देश्यले मूल्य पुनरावलोकन गरिएको हो।

संशोधित मूल्यअनुसार ४९ किलोवाट आवर ब्याट्री क्षमताको ई-भिटारा डेल्टा भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै, ६१ किलोवाट आवर ब्याट्री भएको जेटा भेरियन्ट ५२ लाख ९९ हजार रुपैयाँ, अल्फा भेरियन्ट ५८ लाख ९९ हजार रुपैयाँ तथा फ्ल्यागसिप अल्फा डुअल–टोन (डीटी) भेरियन्ट ५९ लाख ४९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक करण चौधरीले सरकारले ईभीलाई थप पहुँचयोग्य बनाउन सिर्जना गरेको अवसरको पूर्ण लाभ ग्राहकलाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको बताए। उनले नेपालले विद्युतीय यातायाततर्फ उल्लेखनीय प्रगति गरिरहेको उल्लेख गर्दै त्यसलाई थप बलियो बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए।

सीजी मोटोकर्पका अनुसार सुजुकी ई-भिटारा नेपालको पहिलो जापानी ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) हो। HEARTECT-e प्ल्याटफर्ममा आधारित यो गाडीमा लेभल–२ एडीएएस, ५-स्टार बीएनक्याप सुरक्षा र भेहिकल-टु-लोड (V2L) जस्ता अत्याधुनिक फिचर उपलब्ध छन्।

हाल ई-भिटारा चार भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। परिचयात्मक मूल्य पहिलो १०० बुकिङका लागि मात्र लागू हुने तथा संशोधित मूल्य सबै नयाँ बुकिङ र अपूर्ण अर्डरमा तत्काल लागू हुने कम्पनीको भनाइ छ।
 

 

1

Scroll to Top