नेपाल र भारतबीच सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौता बमोजिम एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मार्फत तत्कालै रकम पठाउन सकिने क्रस–बोर्डर रेमिट्यान्स सेवाको औपचारिक सुरुवात गरेको छ । यो नयाँ डिजिटल प्रविधि प्रणालीसँगै दुवै देशका नागरिकले द्रुत, सरल र सुरक्षित माध्यमबाट वास्तविक समयमै रकम लेनदेन गर्न सक्नेछन् ।
नयाँ नियमअनुसार यस सेवामार्फत रकम पठाउनका लागि निश्चित सीमाहरू तोकिएका छन् । जसअन्तर्गत नेपालमा रहेका भारतीय नागरिकले प्रतिदिन अधिकतम १५ हजार र प्रतिमहिना १ लाख भारतीय रुपैयाँसम्म भारत पठाउन पाउने व्यवस्था गरिएको छ । त्यसैगरी भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकले भने मासिक सीमाको बन्देज बिना नै दैनिक अधिकतम २ लाख भारतीय रुपैयाँसम्म नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
यस प्रणालीमा ग्राहकहरूले सहजै प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (वीपीए) प्रयोग गरी रकम स्थानान्तरण गर्न सक्नेछन् भने भारतका प्रयोगकर्ताले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) आईडीलगायतका माध्यमबाट सीधै रकम प्राप्त गर्न सक्नेछन् । सेवा सम्बन्धी थप विस्तृत जानकारीका लागि बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।


