धितोपत्र बजारमा गैरकानूनी चलखेल गरेको अभियोगमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि कानुनी फन्दामा परेका छन्। व्यवसायी दीपक भट्ट जोडिएको बहुचर्चित धितोपत्र सम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले पाण्डेलाई समेत प्रतिवादी बनाउँदै अदालतमा अभियोगपत्र दायर गरेको हो। पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेका ४८ वर्षीय छोरा निकोलसलाई अभियोगपत्रमा फरार प्रतिवादीका रूपमा प्रस्तुत गरिएको छ। चितवन भरतपुरका स्थायी बासिन्दा पाण्डे भट्टद्वारा स्थापित लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समेत रहेको अनुसन्धानबाट खुलेको छ।
सीआईबीको निष्कर्ष अनुसार, पाण्डे सञ्चालक रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल रिइन्स्योरेन्स लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा कृत्रिम उतारचढाव ल्याई बजारलाई प्रभावित पारेको थियो। बिहीबार ८१ जनालाई प्रतिवादी बनाएर दायर गरिएको यस मुद्दामा लिबर्टीका सञ्चालकहरूले अन्य व्यक्ति तथा संस्थाहरूसँग अवैध मिलेमतो गरी आम लगानीकर्ता र समग्र सेयर बजारलाई भ्रममा पारेको उल्लेख छ। यसरी झुटा र कृत्रिम कारोबार गरी कम्पनीलाई ९९ लाख रुपैयाँ नोक्सानी पुर्याएको भन्दै सरकारी वकिलले सोही बराबरको बिगो मागदाबी गरेको छ। स्मरणीय छ, बोलपत्र प्रणाली (भिटिएमएस) ह्याक गरी ठेक्का हत्याएको कसुरमा निकोलसका बुवा विक्रम पाण्डेलाई पनि यसअघि सीआईबीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको थियो।


