काभ्रेको नमोबुद्ध नगरपालिका–२, बुचाकोटमा भएको दुखद बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको अरनिको यातायातको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई बिपी राजमार्गबाट करिब २०० मिटर तल खस्दा उक्त हताहती भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका १६ जना यात्रुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। २५ देखि ३० जना यात्रु सवार रहेको अनुमान गरिएको सो दुर्घटनास्थलमा उद्धार कार्यलाई तीव्रता दिँदै घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।


