Banijya News

क्वेस्ट फर्मास्युटिकल्सले ६ महिनामा गर्‍यो १ अर्ब ३७ करोडको व्यापार

1
1.0K Shares

स्वदेशी औषधी उत्पादनमा अग्रणी कम्पनी क्वेस्ट फर्मास्युटिकल्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ३७ करोड १० लाख रुपैयाँ (करिब साढे १ अर्ब) को कारोबार गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ९० करोड र सन् २०२४ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो।

सन् १९९९ मा स्थापना भएको यस कम्पनीले हाल मुटुरोग, मधुमेह, छाला रोग र रगतमा बोसो नियन्त्रण गर्नेलगायत २५ भन्दा बढी समूहका १०० भन्दा बढी प्रकारका औषधी उत्पादन गर्दै आएको छ। देशभर ५० भन्दा बढी औषधी उद्योगहरूबीच कडा प्रतिस्पर्धा रहे पनि क्वेस्टले बजारमा बलियो पकड बनाएको छ।

कम्पनीले अहिले उत्पादन क्षमता बढाउन भक्तपुरको खरिपाटीमा अनुसन्धान केन्द्र (R&D) सँगै नयाँ उत्पादन प्लान्ट स्थापना गर्ने ठूलो योजना अघि बढाएको छ। यो परियोजना आगामी ४/५ वर्षभित्र चरणबद्ध रूपमा पूरा गरिने भएकाले तत्कालै कम्पनीको तरलता (नगद प्रवाह) मा ठूलो असर नपर्ने रेटिङ रिपोर्टमा उल्लेख छ। यद्यपि, नयाँ प्लान्टका लागि हुने ठूलो खर्चले मध्यमअवधिमा ऋण र ब्याज तिर्ने क्षमतामा भने केही दबाब पर्न सक्ने अनुमान गरिएको छ।

हाल कम्पनीसँग २८ करोड १० लाख रुपैयाँ कार्यशील पूँजी छ भने बैंक कर्जाको ५३ प्रतिशत सीमा अझै उपयोग गर्न बाँकी रहेकाले यसले कम्पनीलाई वित्तीय राहत दिनेछ। १५ जना सेयरधनी रहेको यस कम्पनीमा उमेशलाल श्रेष्ठसहित ४ जना निर्देशकहरूको ४५ प्रतिशत सेयर छ। कम्पनीले हालै कुल १ अर्ब ५३ करोड २० लाख रुपैयाँको बैंक कर्जाका लागि रेटिङ समेत गराएको छ।

1

Scroll to Top