Banijya News

नेपाल-भारत आर्थिक सहकार्य र साझा समृद्धिमा जोड

1
1.1K Shares

नेपाल र भारतका व्यावसायिक नेतृत्व तथा नीतिनिर्माताहरूले दुई देशबीचको आर्थिक सहकार्यलाई सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई बढावा दिनुपर्नेमा जोड दिएका छन्। भारतको सिलिगुडीमा एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (आइडा) र कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) नर्थ बंगाल जोनल काउन्सिलद्वारा संयुक्त रूपमा आयोजित उच्चस्तरीय संवादमा विशेषगरी पूर्वी नेपाल र पश्चिम बंगालबीच व्यावहारिक नीतिगत पहलमार्फत आर्थिक सम्बन्ध विस्तार गर्नेबारे सरोकारवालाहरूले गहन छलफल गरे। संवादका क्रममा नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की), मोरङ उद्योग संघ तथा स्थानीय उद्यमीहरूले दुई देशबीचको अद्वितीय जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौँ र सिलिगुडीमा यस्ता छलफलहरू नियमित हुनुपर्ने र व्यापार सहजीकरणका चुनौतीहरूलाई व्यावहारिक रूपमा सुल्झाउनुपर्ने धारणा राखे।

सोही अवसरमा जनप्रतिनिधि तथा उद्योगीहरूले सिलिगुडीको रणनीतिक महत्वलाई औंल्याउँदै यसलाई नेपाल, भारतको उत्तर-पूर्वी क्षेत्र, भुटान र बंगलादेश जोड्ने प्रमुख प्रवेशद्वारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले नेपालको वर्तमान सरकार निजी क्षेत्रमैत्री रहेको र लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै भारतीय उद्यमीहरूलाई नेपालका सम्भावित क्षेत्रहरूमा लगानी गर्न आह्वान गरे। सहभागीहरूले नेपाल-पश्चिम बंगाल आर्थिक करिडोरको बढ्दो महत्वमाथि प्रकाश पार्दै विशेषगरी जलविद्युत, पर्यटन, कृषि, उत्पादनमूलक उद्योग, शिक्षा, आतिथ्य र स्वास्थ्य सेवा क्षेत्रलाई प्रमुख प्राथमिकताका रूपमा अघि सार्नुपर्ने बताए।

ऐतिहासिक रूपमा पश्चिम बंगाल नेपालमा भारतीय लगानीको प्रारम्भिक र प्रतिबद्ध स्रोत रहँदै आएको छ। ९० को दशकमा नेपाल प्रवेश गरेका सूर्य नेपाल, एसियन पेन्ट्स, बर्जर पेन्ट्स र डाबर नेपाल जस्ता कम्पनीहरू आज नेपालका विश्वासिला ब्रान्डका रूपमा स्थापित छन् भने हालै ओबिटी नेपाल पनि यसै सूचीमा थपिएको छ। यी उद्योगहरूले नाफा मात्र नकमाएर दुई देशबीचको आर्थिक सम्बन्धमा आपसी विश्वास समेत बढाएका छन्। आइडाका संस्थापक सुनील केसीका अनुसार आर्थिक कूटनीति प्रवर्द्धन गर्ने उद्देश्यले नै यस्ता संवादहरू आयोजना भइरहेका हुन्, जसले आगामी दिनमा केवल छलफलमा मात्र सीमित नभई दिगो आर्थिक वृद्धि र क्षेत्रीय समृद्धिका लागि व्यावहारिक साझेदारी र ठोस लगानीको अवसर सृजना गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ।

1

Scroll to Top