नेपालमा नयाँ सरकार गठन भएलगत्तै दक्षिणी छिमेकी भारतपछि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौँको सन्तुलित कूटनीतिक प्राथमिकतालाई प्रस्ट पारेका छन्। बेइजिङमा चिनियाँ समकक्षी वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग भएका भेटवार्ताहरूमा नेपालले आफ्नो परम्परागत ुएक चीन नीतिु र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने अडानलाई पुनः दृढताका साथ दोहोर्याएको छ। जवाफमा चिनियाँ पक्षले पनि नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति ऐक्यबद्धता जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा पुगेका मन्त्री खनालले नेपालमा आन्तरिक सत्ता समीकरण फेरिए पनि चीनसँगको आधारभूत कूटनीतिक संवेदनशीलता र निरन्तरतामा कुनै आँच नआउने विश्वास बेइजिङलाई दिलाएका छन्।
तर, यो उच्चस्तरीय भ्रमण केवल औपचारिकतामा मात्र सीमित रहेनस यसले नेपालले झेलिरहेको त्रिकोणीय भूराजनीतिक दबाब र आन्तरिक चुनौतीहरूलाई पनि सतहमा ल्याएको छ। अमेरिकी उच्च अधिकारीहरूको लगातारको नेपाल भ्रमण र तिब्बती शरणार्थीप्रतिको चासोलाई सूक्ष्म रूपमा नियालिरहेको चीनले ुटाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रोु भन्दै एमसीसी परियोजनाको वास्तविक नियतमाथि पुनः संशय व्यक्त गरेको छ। त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ निर्माण कम्पनी र यसका पदाधिकारीविरुद्ध नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको विषयलाई समेत चिनियाँ समकक्षी वाङ यीले गम्भीरताका साथ उठाएका छन्। मन्त्री खनालले यसलाई संवैधानिक निकायको क्षेत्राधिकार भन्दै सरकारको बचाउ गरे पनि अघिल्लो सरकारको यो कदमले चिनियाँ पक्षमा उब्जाएको संशय निवारण गर्नु नयाँ सरकारका लागि कठिन परीक्षा बनेको छ।
भूराजनीतिक जटिलताका बीच यस भ्रमणको आर्थिक र पूर्वाधार आयाम निकै अर्थपूर्ण देखिएको छ। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणका क्रममा तय गरिएको ुपुस्तौंसम्मको रणनीतिक साझेदारीु र बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतका सुस्त परियोजनाहरूलाई गति दिन दुवै देश सहमत भएका छन्। केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन, अरनिको र पृथ्वी राजमार्गको स्तरोन्नति, तथा ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कको कार्यान्वयनमार्फत नेपाललाई ुभूजडितु राष्ट्र बनाउने दिशामा ठोस छलफल भएको छ। यसका साथै, मन्त्री खनालको ुचाइनिज एकेडमी अफ साइन्सु को भ्रमणले नेपाललाई परम्परागत अर्थतन्त्रबाट आधुनिक, डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स मैत्री प्रविधिमा डोर्याउने नयाँ ढोका खोलेको छ।
लामो समयदेखि टाउको दुखाइ बनेको दुई देशबीचको ठूलो व्यापार घाटा न्यूनीकरण गर्न चिनियाँ बजारमा नेपाली उत्पादनको सहज पहुँच र भन्सार सहुलियतको एजेन्डालाई मन्त्री खनालले प्रमुखताका साथ उठाएका छन्। वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्न जलविद्युत्, पूर्वाधार, कृषि र पर्यटन क्षेत्रमा चिनियाँ लगानी भित्र्याउने र त्यसका लागि नेपालले सुरक्षित एवं पारदर्शी व्यावसायिक वातावरण बनाउने सहमति भएको छ। यसबाहेक, अन्तरदेशीय प्रसारण लाइन निर्माण, पेट्रोलियम पदार्थको अन्वेषण र नेपालमा सधैँ देखिने रासायनिक मलको अभाव हटाउन चीनबाट आपूर्ति सुनिश्चित गर्ने विषयमा पनि सकारात्मक कुराकानी भएको छ।
बहुपक्षीय मञ्चहरूमा सहकार्यको सन्दर्भमा नेपालले चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ लाई समर्थन गरे पनि सुरक्षासँग जोडिएको ग्लोबल सेक्युरिटी इनिसिएटिभबाट भने आफूलाई टाढै राखेको छ। विगतमा जीएसआई सम्बन्धी विवादकै कारण तत्कालीन ओली सरकारले भूराजनीतिक दबाब झेल्नुपरेको पृष्ठभूमिमा मन्त्री खनालले असंलग्न परराष्ट्र नीतिको कूटनीतिक सन्तुलन कायम राख्न यो चलाखीपूर्ण मौनता साधेका हुन्। समग्रमा, यो भ्रमणले नेपालको कूटनीतिमा नयाँ पुस्ताको बलियो उपस्थिति र समृद्धिको मार्गचित्र कोरेको त छ, तर विगतका सम्झौताहरू कागजमै सीमित हुने प्रवृत्तिलाई तोड्दै आन्तरिक सुशासन, नीतिगत स्थिरता र प्रशासनिक चुस्तता कायम राखेर चिनियाँ सहयोगलाई नतिजामा बदल्नु नै अबको मुख्य चुनौती हो।


