रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले विभिन्न १८ वटा कम्पनीहरूको क्रेडिट रेटिङलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’ (नेगेटिभ वाच) मा राखेको छ। सम्बन्धित कम्पनीका प्रवर्द्धक तथा सञ्चालकहरूमाथि विभिन्न वित्तीय अनियमितताको अभियोगमा कानुनी कारबाही अगाडि बढेपछि एजेन्सीले यो कदम चालेको हो ।
यसरी निगरानीमा परेका १८ मध्ये १५ वटा कम्पनीले मात्रै कुल १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको कर्जा सुविधाका लागि रेटिङ गराएका थिए भने बाँकी ३ वटा कम्पनीको इस्युअर रेटिङमा नकारात्मक असर परेको छ। सञ्चालकहरूको गिरफ्तारी र कानुनी संकटका कारण यी कम्पनीहरूको वित्तीय अवस्था, व्यवस्थापकीय निरन्तरता, तरलता र बजार प्रतिष्ठामा गम्भीर अन्यौलता सिर्जना भएको रेटिङ एजेन्सीको निष्कर्ष छ।
यो संकटको मुख्य कडी गत जेठ २८ गते सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको मुद्दासँग जोडिएको छ। धितोपत्र, बीमा, बैंकिङ र सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर कसुरमा विभिन्न ठुला व्यावसायिक घरानाका कुल १६७ जनालाई अभियुक्त बनाउँदै काठमाडौँ जिल्ला अदालत, पाटन उच्च अदालत र विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
प्रतिवादीहरूमध्ये धितोपत्रतर्फ ८१, बीमातर्फ ४२, सम्पत्ति शुद्धीकरणमा ३९ र बैंकिङ कसुरमा ५ जना रहेका छन्। यो कानुनी प्रक्रियाले ती सञ्चालकहरू जोडिएका कम्पनीहरूको व्यावसायिक सञ्चालन र साखमा सीधा धक्का पुर्याएको देखिन्छ। ‘नेगेटिभ वाच’ मा पर्नेमा अधिकांश स्थापित व्यवसायी सुलभ अग्रवाल संलग्न रहेका शंकर ग्रुप र जगदम्बा ग्रुपका कम्पनीहरू छन्। जसमा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवालसहित शंकरलाल अग्रवाल र साहिल अग्रवालको लगानी रहेका उद्योग तथा व्यवसायहरू मुख्य छन्।
इन्फोमेरिक्सका अनुसार जगदम्बा स्टिलको मात्रै ३३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको ऋण सुविधा निगरानीमा परेको छ। यसबाहेक जगदम्बा मोटर्स (५.९७ अर्ब), जगदम्बा हस्पिटालिटी (५.३० अर्ब), जगदम्बा अटो (१.९१ अर्ब), जगदम्बा हायर पर्चेज (१.७२ अर्ब), जगदम्बा फ्लोर एन्ड एग्रो (१.५४ अर्ब) र जगदम्बा मोबाइल्स (९० करोड) को रेटिङ पनि जोखिममा धकेलिएको छ।
त्यसैगरी शौर्य सिमेन्टको १४ अर्ब ८७ करोड, रिद्धि सिमेन्टको ११ अर्ब ९३ करोड, लिट्मस इन्डस्ट्रिजको ८ अर्ब ६७ करोड र गनपति वनस्पतिको ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको कर्जा रेटिङलाई पनि नेगेटिभ सूचीमा राखिएको छ। सूचीमा टेलिटक प्रालिको ५७ अर्ब, टेली डाइरेक्टको २ अर्ब ५० करोड, रामजानकी हाइड्रोपावरको ५ अर्ब २५ करोड र वेदांशी इन्फ्रास्ट्रक्चरको ३ अर्ब ५० करोड रुपैयाँको क्रेडिट रेटिङ समावेश छ। यीबाहेक हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेस्टमेन्ट बैंकर र व्यवसायी शेखर गोल्छा आबद्ध हुलास फिनसर्भ पनि यो नकारात्मक निगरानीबाट अछुतो रहन सकेनन्।
नेपालको तेस्रो क्रेडिट रेटिङ एजेन्सीको रूपमा सक्रिय (इन्फोमेरिक्स इन्डियाको भगिनी संस्था) इन्फोमेरिक्स नेपालले अब यी कम्पनीहरूको बोर्ड नेतृत्व, मुख्य कर्मचारीहरूको कार्यसम्पादन र अदालती प्रक्रियालाई नजिकबाट नियाल्ने जनाएको छ। मुद्दाको अन्तिम फैसला वा अनुसन्धानको प्रगति कता जान्छ, सोही आधारमा आगामी दिनमा यी कम्पनीहरूको रेटिङमा थप परिमार्जन वा हेरफेर गरिने एजेन्सीले प्रष्ट पारेको छ।


