Banijya News

सुकुमबासीलाई होल्डिङ सेन्टर खाली गर्न पाँच दिनको समय

1
1.1K Shares

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसिरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको छ। सोमबारदेखि आगामी शुक्रबारसम्ममा आफैँ व्यवस्थापन गरेर सेन्टर खाली गर्न समितिले ताकेता गरेको हो। नदी किनारका बस्तीहरू हटाएपछि विस्थापित भएकाहरूलाई यस सेन्टरमा राखिएको थियो ।

आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार होल्डिङ सेन्टरको बसाइ केवल अस्थायी प्रबन्ध मात्र भएकाले लामो समयसम्म मानिसहरूलाई राख्दा उनीहरूको दैनिक जीवन अस्तव्यस्त बनेको छ। त्यहाँ बस्नेहरू काममा जान नपाएको र हाल मनसुन सुरु भइसकेकाले खोला किनारमै रहेको उक्त सेन्टरमा बाढी र डुबानको ठुलो जोखिम रहेको उनी बताउँछन्।

यस्तो सुरक्षा संवेदनशीलता र मानवीय संकट आउन नदिन वर्षायामअगावै सुकुमबासीहरूलाई सुरक्षित स्थानमा पठाउन ५ दिने अल्टिमेटम दिनुपरेको समितिको भनाइ छ। होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनर्स्थापना प्याकेज अघि सारेको र अब त्यसलाई कार्यान्वयन गरिने समितिले जनाएको छ। यसअन्तर्गत सेन्टरभित्र र बाहिर रहेका विस्थापितहरूलाई कोठा खोज्न र प्रारम्भिक बन्दोबस्त मिलाउन प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च दिने निर्णय भएको छ। यसका लागि आवश्यक बजेट विनियोजन भई समितिमा प्राप्त भइसकेको र चालू आर्थिक वर्षको असार १५ देखि २० गतेभित्र वितरण गरिसक्नुपर्ने कानुनी बाध्यता रहेको छ।

यसका साथै, वास्तविक सुकुमबासी र घरबारविहीन भएका प्रमाणित परिवारलाई छुट्टै कोठा भाडामा लिनका लागि मासिक १५ हजार रुपैयाँका दरले किस्ताबन्दी रूपमा भाडा सहयोग उपलब्ध गराइने महर्जनले जानकारी दिए। यो रकम भूमि आयोगले उनीहरूको स्थायी व्यवस्थापनको टुङ्गो नलगाएसम्म प्रदान गरिने व्यवस्था छ। सरकारले कसैलाई पनि घरबारविहीन बनाउन नलागेको समितिले स्पष्ट पारेको छ।

हाल उपत्यकाका कुल ६ वटा होल्डिङ सेन्टरहरूमा ३८८ परिवार आश्रित भए पनि अहिलेसम्म कसैले पनि राहत रकम बुझिसकेका छैनन्। राहत वितरण प्रक्रियालाई तीव्र बनाउन समितिले ३ देखि ४ वटा विशेष टोली खटाएको छ। राहत प्राप्त गर्नका लागि पीडित परिवारले आफ्नो खाता नम्बरसहितको निवेदन बुझाउनुपर्नेछ र निवेदन प्राप्त हुनासाथ बैंकमार्फत सोझै रकम उपलब्ध गराइने समितिले जनाएको छ।

1

Scroll to Top