नेपाल मेडिसिटी अस्पताल र सिङ्गापुरको अग्रणी स्वास्थ्य सेवा संस्था सिङहेल्थबीच स्वास्थ्य सेवाको गुणस्तर, बिरामी सुरक्षा तथा अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी तयारीलाई सुदृढ बनाउने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सिङ्गापुरमा आयोजित कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमर र सिङहेल्थका ग्रुप डाइरेक्टर (इन्टरनेशनल कोलाबोरेशन) प्रोफेसर लन्डन लुसियन ओईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा सिङहेल्थकी निर्देशक विजया राव, इन्टरनेशनल कोलाबोरेशन अफिसकी आइरिन एङ तथा नेपाल मेडिसिटीका एभिपी तेन्जिङ कुन्सेल बज्राचार्यलगायतको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार स्वास्थ्य सेवा गुणस्तर व्यवस्थापन, बिरामी सुरक्षा, अन्तर्राष्ट्रिय मापदण्डको कार्यान्वयन तथा स्वास्थ्य संस्थाको मान्यतासम्बन्धी तयारीका क्षेत्रमा ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासहरूको आदानप्रदान गरिनेछ।
आवश्यकताअनुसार सञ्चालन प्रक्रिया, प्रोटोकल तथा अन्य प्राविधिक सामग्रीसमेत साझेदारी गरिने जनाइएको छ।
सिङहेल्थ सिङ्गापुरको सबैभन्दा ठुलो सार्वजनिक स्वास्थ्य सेवा समूहका रूपमा परिचित छ, जसले स्वास्थ्य सेवा गुणस्तर, बिरामी सुरक्षा, चिकित्सा शिक्षा र अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिष्ठा हासिल गरेको छ।
नेपाल मेडिसिटी अस्पतालले उक्त सहकार्यले अस्पतालको गुणस्तर सुधार तथा बिरामी सुरक्षासम्बन्धी प्रयासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यस साझेदारीले नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवर्द्धन, बिरामीको उपचार अनुभव सुधार तथा स्वास्थ्य सेवाप्रतिको जनविश्वास अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।


