नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घट्दा पनि नेपाली उपभोक्ताले महँगो दरमै इन्धन किन्नुपरेको भन्दै सरकार र नेपाल आयल निगमप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो आक्रोश पोख्दै उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७.६३ डलरबाट घटेर ६९.२१ डलर (करिब ३० प्रतिशत गिरावट) सम्म आइपुग्दा समेत नेपाली उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ र राहत पाउन नसक्नु निकै दुःखद भएको उल्लेख गरेका छन्।
महामन्त्री पौडेलले कच्चा तेल र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर स्वाभाविक भए पनि आयल निगमले ुकच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैनु भन्दै बहानाबाजी गरिरहेको आरोप लगाएका छन्। कच्चा तेलको मूल्यमा आएको यति ठुलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा घट्ने उनको तर्क छ।
लामो समय बितिसक्दा समेत वास्तविक सूचना लुकाएर पुरानै प्राविधिक बहाना देखाई मूल्य नघटाउनुले सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको पौडेलले बताएका छन्। प्रत्येक १५.१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम सहज रूपमा हुनुपर्नेमा जोड दिँदै उनले भाउ बढ्दा तुरुन्तै लागू हुने तर घट्दा लागू नहुने परिपाटीप्रति प्रश्न उठाएका छन्।
घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने तर सस्तो हुँदा राहत नपाउने अवस्था अन्यायपूर्ण रहेको भन्दै उनले तत्काल मूल्य समायोजन गर्न माग गरेका छन्।


