Banijya News

संसद् बैठक स्थगित, सत्तारुढ दल महाधिवेशनमा व्यस्त

1
1.0K Shares

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिँदा संसद् बैठकसमेत प्रभावित भएको छ । संसद् सचिवालयले लगातार दुई दिन बैठक स्थगित गरी सार्वजनिक बिदाको दिन शनिबार बैठक बोलाएको छ ।

विशेष कारण देखाउँदै सभामुख डीपी अर्यालले आज शुक्रबार १ बजेका लागि तय गरिएको बैठक स्थगित गरी भोलि शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयले जनाएको छ ।

सत्तारुढ दल रास्वपाका सांसदहरू पार्टीको महाधिवेशनमा चितवनमा रहेकाले संसद् बैठक लगातार प्रभावित बनेको हो । यसअघि हिजो विहीबारका लागि तय गरिएको बैठक पनि शुक्रबारलाई सारिएको थियो ।

प्रतिनिधिसभाको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुने कार्यतालिका थियो । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ सदनमा पेस गर्ने कार्यसूचीमा रहेका थिए ।

बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । यसैगरी, अर्थमन्त्रीबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको थियो ।

तर, सत्तारुढ दल रास्वपा महाधिवेशनमा व्यस्त भएर संसद् बैक स्थगित हुँदा यी महत्वपूर्ण कार्यहरु पनि पछि धकेलिएका छन् ।

1

Scroll to Top