नेपालको आपत्कालीन स्वास्थ्य सेवा प्रणालीलाई समुदाय स्तरमै बलियो बनाउने उद्देश्यका साथ काठमाडौंको व्यस्त व्यापारिक केन्द्र विशाल बजारमा सर्वसाधारणले प्रयोग गर्न सक्ने ‘स्वचालित बाह्य डिफिब्रिलेटर’ (मुटु जगाउने उपकरण) जडान गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सार्वजनिक स्थानमा यो उपकरण जडान गरिएको यो दोस्रो पटक हो।
सार्वजनिक स्वास्थ्य र आपत्कालीन तयारीमा केन्द्रित स्थानीय गैरनाफामूलक संस्था ‘हाप्सा नेपाल’ को अगुवाइ र ‘अमेरिका नेपाल मेडिकल फाउन्डेसन’ को सहयोगमा यो जीवनरक्षक उपकरण स्थापना गरिएको हो। आपत्कालीन अवस्थामा सर्वसाधारणका लागि उपलब्ध हुने यस उपकरणको रेखदेख र सुरक्षामा विशाल बजार कम्प्लेक्स र नेपाल प्रहरी जनसेवाले समन्वय गर्नेछन्।
हजारौँको आवतजावत हुने विशाल बजार जस्ता व्यावसायिक केन्द्रहरूमा ‘कार्डियाक अरेस्ट’ (अचानक मुटु बन्द हुने अवस्था) को जोखिमलाई मध्यनजर गर्दै यो पहल सुरु गरिएको हो। नेपालमा अस्पताल बाहिर अचानक मुटु बन्द भएपछि बिरामी बाँच्ने दर लगभग शून्य रहेको अनुमान छ, जसको मुख्य कारण समयमै रोगको पहिचान नहुनु, ‘कृत्रिम श्वासप्रश्वास र छाती थिच्ने विधि’ (सीपीआर) को अभाव हुनु र मुटु जगाउने उपकरणसम्म पहुँच नहुनु हो।
विशाल बजारमा राखिएको यो उपकरण अत्यन्त सरल र सुरक्षित छ, जसले आवश्यक पर्दा विद्युतीय झट्का दिएर मुटुको गतिलाई सामान्य अवस्थामा फर्काउन मद्दत गर्दछ। यसमा सर्वसाधारणको सहजताका लागि स्पष्ट निर्देशनहरू र एउटा जानकारीमूलक भिडियो हेर्न मिल्ने ‘क्युआर कोड” समेत राखिएको छ।
यो कदम हाप्सा नेपाल र नेपाल प्रहरीबीचको नयाँ सहकार्यको एउटा महत्वपूर्ण हिस्सा हो । कुनै पनि आपत्कालीन घटनामा प्रहरी अधिकारीहरू नै सबैभन्दा पहिले घटनास्थल पुग्ने हुनाले उनीहरूलाई यस्ता जीवनरक्षक उपकरण र सीपले सुसज्जित बनाउँदा अस्पताल पुग्नुअघि नै बिरामीको ज्यान जोगाउन निर्णायक भूमिका खेल्ने नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन। त्यस्तै, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. नारायण न्यौपाने र हाप्सा नेपालका उपाध्यक्ष डा. कमल थापाले सार्वजनिक स्थानमा यस्ता उपकरणको उपलब्धताले हरेक पटक एउटा नयाँ जीवन बचाउने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
यो सिंगो अभियान हाप्सा नेपालद्वारा सञ्चालित देशव्यापी ुनेपाल लाइफसेभर्स (जीवनरक्षक) कार्यक्रमु अन्तर्गत अगाडि बढाइएको हो। यस कार्यक्रमले हालसम्म २,५०० भन्दा बढी सशस्त्र प्रहरी बलका जवानहरूलाई कृत्रिम श्वासप्रश्वास र छाती थिच्ने ९सीपीआर० तालिम दिइसकेको छ भने विद्यालयहरूमा समेत यो शिक्षा पुर्याउन सुरु गरेको छ। जीवनरक्षक सीपलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न शिक्षा मन्त्रालयसँग सहकार्य भइरहेको छ भने जनचेतनाका लागि नेपाली ुसीपीआर गीतु र समुदाय-प्रतिक्रिया दिने ‘मोबाइल एप’ समेत विकास गरिएको छ। संस्थाका संस्थापक डा. रामु खरेलका अनुसार, यो पहल केवल मेसिन जडान गर्ने कार्य मात्र नभएर अस्पताल पुग्नुअघि नै मानिसको ज्यान जोगाउन सक्ने एउटा भरपर्दो राष्ट्रिय प्रणाली निर्माण गर्ने महाअभियान हो।


