त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षा क्षेत्रमा बढ्दो दलीय हस्तक्षेप अन्त्य गर्न र खस्कँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन आफ्ना सबै आंगिक क्याम्पसहरूबाट राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनका संरचनाहरू हटाउने निर्णय गरेको छ। विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयको पत्रका आधारमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सूचना जारी गर्दै सरकारको निर्णय अनुसार ६० दिनभित्र क्याम्पस हाताबाट दलीय संगठनका पुराना संरचनाहरू पूर्ण रूपमा हटाइसक्न निर्देशन दिएको हो ।
दलीय राजनीतिले विद्यार्थीको वास्तविक आवाज समेट्न नसकेको निष्कर्ष निकाल्दै त्रिविले अबको ९० दिनभित्र क्याम्पसहरूमा ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता नयाँ र साझा संयन्त्रको विकास गर्ने योजना अघि सारेको छ। निर्देशनालयले यो निर्णयलाई तत्काल कार्यान्वयन गरी सोको जानकारी यथासक्य चाँडो केन्द्रमा पठाउन समेत आफ्ना मातहतका सबै आंगिक क्याम्पसहरूलाई निर्देशानुसार अनुरोध गरेको छ।


