Banijya News

बालेन सरकारप्रति सेयरबजार त्रसित ? कारोबार २१ अर्बबाट घटेर २ अर्बमा खुम्चियो

1
1.0K Shares

गत फागुनमा भएको निर्वाचनपछि करिब दुई तिहाई मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तासीन छ । नेपालमा स्थायी सरकार बनेपछि आर्थिक क्षेत्रमा नयाँ गति आउने अपेक्षा गरिएको थियो । राजनीतिक स्थिरताले लगानीकर्ताको मनोबल बढाउने, निजी क्षेत्र विस्तार हुने र पूँजी बजारले सकारात्मक गति लिने अनुमान गरिएको थियो । तर, सरकार बनेयता शेयर बजारमा देखिएको अवस्थाले यी अपेक्षामाथि तुषारापात भएको छ ।

पछिल्लो समयमा शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । बजार परिसूचक घट्नुका साथै कारोबार रकममा आएको ठूलो गिरावटले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको संकेत गरेको छ । राजनीतिक स्थिरताको लाभ आर्थिक गतिविधिमा रूपान्तरण हुन नसकेको अवस्था छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार गत जेठ १२ गतेदेखि असार १२ गतेसम्म एक महिनाको अवधिमा नेप्से परिसूचक १२८ अंकले घटेको छ । जेठ १२ गते २ हजार ७ सय ७७ अंकमा रहेको बजार असार १२ गतेसम्म आइपुग्दा २ हजार ६४९ अंकमा झरेको छ । आज असार १६ गते अझ घटेर २ हजार ६०८ मा ओर्लेको छ भने सबै सूचक राताम्य भएका छन् । तथापि, कारोबार रकम केही बढेर ३ अर्ब २५ करोड पुगेको छ ।

शेयर बजारमा आएको सबैभन्दा ठूलो परिवर्तन कारोबार रकममा देखिएको छ । गत फागुन २६ गते नेप्सेमा दैनिक कारोबार रकम २१ अर्ब रुपैयाँभन्दा माथि पुगेको थियो । तर, असार १२ गतेसम्म आइपुग्दा कारोबार रकम घटेर करिब २ अर्ब रुपैयाँमा सीमित भएको छ । अहिले दैनिक ३ अर्ब रुपैयाँ बराबरको कारोबार हुनसमेत कठिन भइरहेको छ । कारोबार रकम घट्नुले बजारमा लगानीकर्ताको सहभागिता कमजोर भएको देखाउँछ ।

एक महिनाको अवधिमा बजार पुँजीकरण करिब ७३ अर्ब रुपैयाँले घटेको छ । गत चैत १२ गते करिब ४ खर्ब ७३ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण असार १२ गतेसम्म आइपुग्दा करिब ४ खर्ब ५३ अर्ब रुपैयाँमा झरेको छ । बजारको यो गिरावट केवल अंकको कमी मात्र नभएर लगानीकर्ताको मनोविज्ञानमा आएको परिवर्तनको संकेत पनि हो ।

शेयर बजारलाई भविष्यको अर्थतन्त्रको संकेत गर्ने महत्वपूर्ण सूचक मानिन्छ । बजार निरन्तर घट्नुले लगानीकर्ताको अपेक्षा र वास्तविक आर्थिक अवस्थाबीच दूरी बढेको देखाउँछ । बारम्बार सरकार परिवर्तन भइरहने, यसपछि हुने नीतिगत परिवर्तन र राजनीतिक अस्थिरताका कारण लगानीकर्ताले जोखिम महसुस गर्दै आएका थिए । त्यसैले, लगानीकर्ताले स्थिर सरकारबाट नीतिगत सुधार, लगानी विस्तार र आर्थिक गतिविधिमा तीव्रताको अपेक्षा गरेका थिए । तर, सरकार स्थिर भए पनि राज्य संयन्त्रको कार्यशैली र नीति कार्यान्वयनतर्फ पुरानै समस्याबाट मुक्त हुन सकेको छैन । वास्तविक अर्थतन्त्रमा सुधारको गति कमजोर देखिँदा त्यसको प्रभाव शेयर बजारमा परेको छ ।

शेयर बजारमा आएको निरन्तरको ओरालो यात्राले लगानीकर्तालाई प्रत्यक्ष असर गरेको छ । बजारमा सक्रिय खरिदकर्ताको कमी हुँदा बिक्री दबाब बढेको छ । पछिल्लो साता मात्रै नेप्से ५१ अंकले घटेको छ । साताका पाँचै कारोबार दिन बजार घटेर बन्द भएको छ । अहिले धेरै लगानीकर्ता तत्काल खरिदभन्दा पनि पर्ख र हेरको अवस्थामा छन् । अहिलेको अवस्थाले शेयर बजारमा सुधारका लागि राजनीतिक स्थिरता मात्र पर्याप्त हुँदैन भन्ने देखाएको छ । यसका लागि आर्थिक गतिविधिमा तीव्रता, सरकारको नीतिगत सुधार, कम्पनीहरूको आम्दानी, बैंकिङ क्षेत्रको अवस्था साथै नीतिगत स्पष्टता बजारले हेर्ने बुझिन्छ ।

1

Scroll to Top