नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ ।
भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा यो परियोजना अघि बढाइएको हो ।
पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार निर्माणका लागि प्रारम्भिक चरणमा मेचीनगर नगरपालिकाले २ लाख रुपैयाँ उपलब्ध गराएको छ भने आवश्यक थप बजेट कार्यालयले व्यवस्थापन गरिसकेको छ । चालु आर्थिक वर्षभित्रै विभिन्न संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यो संरचनाले पूर्वी नाकाको आकर्षण बढाउनुका साथै नेपाल प्रवेश गर्ने पर्यटकमा सकारात्मक पहिलो प्रभाव सिर्जना गर्ने प्रमुख खतिवडाले बताए । संरचना निर्माणपछि पर्यटक केही समय नाकामै रोकिने, तस्बिर खिच्ने र स्थानीय सेवा उपयोग गर्ने हुँदा यसबाट स्थानीय अर्थतन्त्रसमेत चलायमान हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
करिब २०० मिटर क्षेत्रमा निर्माण भइरहेको उक्त संरचनाभित्र नेपालको मौलिक संस्कृति र राष्ट्रिय पहिचान झल्कने विभिन्न संरचना रहनेछन् । यहाँ ३२ वटा नेपाली झण्डा, पर्यटकका लागि आकर्षक ‘सेल्फी बुथ’ तथा रातको समयमा थप आकर्षण बढाउने ‘डिजिटल लाइटिङ’को व्यवस्था गरिनेछ । निर्माणका लागि हाल सो क्षेत्रमा रहेका ठूला विज्ञापन बोर्डहरू अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।
निर्माणस्थलको नेतृत्व गरिरहेका स्थानीय पर्यटन व्यवसायी रामबहादुर तामाङले यो पूर्वी नाकाको दीर्घकालीन आवश्यकता भएको बताए । उनले स्थानीय समुदायको आर्थिक सहयोग र श्रमदानसमेत भएकाले परियोजनाप्रति अपनत्व बढ्ने र यसको दिगोपना सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
लामो समयदेखि सीमामा आकर्षक पर्यटकीय संरचना आवश्यक रहेको आवाज उठाउँदै आएकोमा अहिले त्यो आवश्यकता पूरा हुने चरणमा पुगेको तामाङको भनाइ छ । संरचना निर्माण सम्पन्न भएपछि काँकडभिट्टा प्रवेश गर्नेबित्तिकै पर्यटकले नेपाल आएको फरक र सुखद अनुभूति गर्ने उनले बताए ।
यससँगै पर्यटन कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई कार्यक्षेत्र बनाएर सीमा पर्यटन, पर्या–पर्यटन, फोटो प्रदर्शनी, होमस्टे प्रवर्द्धन तथा होटल र ट्राभल एजेन्सीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
पूर्वी नाका हुँदै प्रत्येक वर्ष हजारौँ विदेशी पर्यटक नेपाल भित्रिने गरेका छन् । निर्माणाधीन नयाँ पर्यटकीय संरचनाले काँकडभिट्टाको स्वरूप परिवर्तन गर्नुका साथै पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीय पर्यटन व्यवसायीहरूले व्यक्त गरेका छन् ।


