नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार आजदेखि लागू हुने गरी इन्धनको भाउ उल्लेख्य मात्रामा घटाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ कटौती गरिएको हो ।
यसरी ठूलो रकमले मूल्य घटेको भन्दै असन्तुष्ट बनेका निजी पेट्रोल पम्प व्यवसायीहरूले काठमाडौंमा इन्धन बिक्री वितरण पूर्ण रूपमा ठप्प पारेका छन् । निजी पम्पहरू बन्द भएपछि सर्वसाधारणहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा सञ्चालित पम्पहरूमा निर्भर हुनपुगेका छन् । सीमित ठाउँमा मात्र इन्धन उपलब्ध भएकाले सुरक्षा निकायका ती पम्पहरूमा यतिबेला सवारी साधनको थेग्नै नसकिने लामो लाइन लागेको छ, जस्तै भद्रकालीस्थित सेनाको पेट्रोल पम्पमा अहिले इन्धन भर्ने बाइक र स्कुटरहरूको थामिनसक्नु भीड देख्न सकिन्छ ।


