एभरेस्ट बैंकले आफ्नो कार्ड सेवा नयाँ प्रणालीमार्फत अघि बढाएको छ । अब बैंकका भिसा कार्डसँग सम्बन्धित सबै कारोबार नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को ईएफटी कार्ड स्विचमार्फत सञ्चालन हुनेछन् ।
यससँगै बैंकले नेपालपे कार्ड पनि जारी तथा स्वीकार गर्नेछ । यसले ग्राहकलाई देशभरका एटीएम, पीओएस मेसिन र विभिन्न डिजिटल माध्यमबाट कार्ड प्रयोग गर्न अझ सहज बनाउने बैंकले जनाएको छ ।
नेपालपे कार्ड अन्तर्राष्ट्रिय डिस्कोभर कार्ड नेटवर्कसँग पनि जोडिएको भएकाले ग्राहकले स्वदेशसँगै विदेशमा पनि कार्ड प्रयोग गर्न सक्ने सुविधा पाउनेछन् । बैंकका अनुसार नयाँ प्रणालीमा गएपछि कार्ड सेवा अझ सुरक्षित, छरितो र प्रभावकारी हुनेछ । साथै सञ्चालन खर्च घट्ने र सेवा व्यवस्थापन पनि सहज हुने अपेक्षा गरिएको छ ।
हाल एनसीएचएलको ईएफटी कार्ड स्विचमा ११ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन् । गत आर्थिक वर्षमा यस प्रणालीमार्फत ४.२८ खर्ब रुपैयाँभन्दा बढीको कार्ड कारोबार प्रोसेस भएको थियो ।


