युवालाई सीप, अवसर र रोजगारीसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ पोखरामा रोजगार मेला आयोजना गरिएको छ। “सीप, अवसर र रोजगारी” भन्ने नारासहित सञ्चालन भएको मेलामा ६० भन्दा बढी व्यावसायिक संस्थाको सहभागिता रहेको छ। मेलाले रोजगार खोजिरहेका युवा र दक्ष जनशक्तिलाई रोजगारदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तर्वार्तामार्फत रोजगारीको अवसर उपलब्ध गराउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
पोखरा उद्योग वाणिज्य संघ र ग्रोथसेलरको संयुक्त आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित मेलामा बैंक, अस्पताल, उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, सूचना प्रविधि, मोटर कम्पनी तथा अन्य विभिन्न व्यवसायिक संस्थाहरू सहभागी भएका छन्। सहभागी कम्पनीहरूले आवश्यक जनशक्तिको खोजी गर्दै योग्य उम्मेदवारसँग प्रत्यक्ष अन्तर्वार्ता लिने व्यवस्था मिलाइएको छ।
मेलामा रोजगारीका अवसर मात्र नभई पेशागत परामर्श, करियर विकास सम्बन्धी मार्गदर्शन तथा सीप अभिवृद्धिसम्बन्धी जानकारीसमेत प्रदान गरिएको छ। रोजगार बजारमा प्रवेश गर्न चाहने नयाँ पुस्ताका युवादेखि अनुभव हासिल गरिसकेका दक्ष जनशक्तिसम्मका लागि मेला उपयोगी हुने विश्वास आयोजकको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समय ठूलो संख्यामा नेपाली युवा रोजगारीको खोजीमा रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने बताए। उनले युवाले आफ्नो सीप, योग्यता र अनुभवअनुसारको रोजगारी खोज्न प्रत्यक्ष प्लेटफर्म प्राप्त गर्नु सकारात्मक पक्ष भएको उल्लेख गरे।
प्रमुख आचार्यका अनुसार रोजगार मेलाले रोजगारदाता र रोजगार खोज्नेबीचको दूरी घटाउनुका साथै स्थानीय स्तरमै दक्ष जनशक्तिको उपयोग बढाउन सहयोग पुर्याउनेछ। स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारीप्रतिको अत्यधिक निर्भरता कम गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्न सक्ने उनको भनाइ थियो।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रोजगार मेला केवल जागिर दिलाउने कार्यक्रम मात्र नभई बेरोजगार युवा र निजी क्षेत्रबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले स्थानीय उद्योग–व्यवसायमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनुका साथै युवालाई आफ्नै देशमा बसेर भविष्य निर्माण गर्न प्रेरित गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए।
उनका अनुसार व्यवसायीले आवश्यक जनशक्ति सहज रूपमा छनोट गर्न सक्ने र युवाले एउटै स्थानमा विभिन्न कम्पनीका अवसरबारे जानकारी प्राप्त गर्ने भएकाले दुवै पक्षलाई मेला लाभदायी हुनेछ। यसले उद्योग तथा व्यवसायमा दक्ष जनशक्तिको अभाव कम गर्नसमेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
मेलामा सहभागी कम्पनीहरूले विभिन्न तहका प्रशासनिक, प्राविधिक, व्यवस्थापकीय, स्वास्थ्य, बैंकिङ, बिक्री तथा सेवा क्षेत्रका रोजगारीका अवसर सार्वजनिक गरेका छन्। इच्छुक युवाले आफ्नो योग्यता अनुसार विभिन्न कम्पनीमा आवेदन दिनुका साथै स्थलमै अन्तर्वार्तामा सहभागी हुन पाएका छन्।
रोजगार सिर्जना, सीपको उपयोग र निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउने लक्ष्यसहित आयोजित यो रोजगार मेला पोखरा तथा आसपासका जिल्लाका युवाका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। आयोजकले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै रोजगारी प्रवर्द्धन र उद्यमशीलता विकासमा थप योगदान पुर्याउने योजना रहेको जनाएको छ।


