Banijya News

ई–पेन्सनप्रति कर्मचारीहरूको आकर्षण बढ्दै, कतिले दिए आवेदन ?

1
1.0K Shares

पछिल्लो समय सरकारी सेवाबाट राजीनामा दिने कर्मचारीहरूको आकर्षण ई–पेन्सनप्रति बढ्दै गएको देखिएको छ । राष्ट्रिय किताबखाना (निजामती) ले २०८२ फागुन ८ गतेबाट सुरु गरेको ई–पेन्सन सेवाका लागि हालसम्म कुल ५१७ जनाले आवेदन दिएका छन् ।

किताबखानाका महानिर्देशक श्रवण पोखरेलका अनुसार, ई–पेन्सनका लागि अहिलेसम्म आवेदन दिएका मध्ये ४३३ जनाले सेवा प्राप्त गरिसकेका छन् । आवेदन दिएकामध्ये ८४ जना अझै सेवाको पर्खाइमा रहेका छन् । सरकारी सेवाबाट राजीनामा दिने कर्मचारीहरूको संख्या बढ्दै जाँदा ई–पेन्सन आवेदनमा उच्च चाप देखिएको छ । यसले गर्दा बाँकी रहेका सबै आवेदनहरूलाई फर्स्यौट गर्ने लक्ष्यका साथ किताबखानाले विशेष अभियान सञ्चालन गरेको छ ।

महानिर्देशक पोखरेलका अनुसार, बाँकी रहेका ८४ वटै आवेदनलाई टुंग्याउन विशेष अभियान सुरु गरिएको हो । जसअन्तर्गत आइतबार सार्वजनिक विदा भए पनि निवृत्त कर्मचारीहरूको सुविधालाई मध्यनजर गर्दै किताबखाना खुला राखिएको छ । असार २५ गतेपछि कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट अवकाश पछिको सुविधा भुक्तानीमा प्राविधिक समस्या हुन सक्ने भएकाले विभिन्न जिल्लाबाट अनलाइन आवेदन गरी प्रतीक्षामा रहेका निवृत्त कर्मचारीहरूको विशेष अनुरोधलाई स्वीकार गर्दै विशेष सेवा अभियान सञ्चालन गरिएको किताबखानाले जनाएको छ ।

महानिर्देशक पोखरेलका अनुसार, कुल निवृत्त कर्मचारीमध्ये ५० प्रतिशतभन्दा बढीले ई–पेन्सन सेवा रोज्न थालेका छन् । किताबखानाले प्रविधिको प्रयोगमार्फत सेवालाई थप पारदर्शी र छरितो बनाउँदै लगेको र आगामी दिनमा पनि यस्ता अभियानहरूलाई निरन्तरता दिने जनाएको छ ।

1

Scroll to Top