आज मध्यरातिदेखि देशैभरका ७५३ वटै स्थानीय तहको बजेट खर्च र भुक्तानीसम्बन्धी आर्थिक कारोबार पूर्ण रूपमा बन्द हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले विशेष निर्देशन जारी गर्दै चालू आर्थिक वर्ष २०८२र८३ को अन्तिम चरणको कारोबार रोक्न सबै स्थानीय तहहरूलाई परिपत्र गरेको हो।
कार्यालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० (१) मा आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि नै भुक्तानी निकासा बन्द गरी खर्चको लेखा अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही नियम पालना गर्नका लागि स्थानीय तहहरूले प्रयोग गर्ने ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’ आज असार २५ गते राति १२ बजेदेखि बन्द गर्न लागिएको हो। यद्यपि, नियमावलीकै उपनियम (७) बमोजिम असार ३२ गतेसम्म हिसाब मिलान गर्ने प्रयोजनका लागि मात्र सीमित प्रकृतिका कारोबारहरू गर्न सकिने सुविधा दिइएको छ।
यसैबीच, महालेखा नियन्त्रक कार्यालयले आजसम्म भएका भुक्तानीहरूबाट कट्टी गरिएका सम्पूर्ण रकमहरू तत्काल बैंकमा जम्मा गर्न समेत निर्देशन दिएको छ। यसअन्तर्गत कर्मचारीहरूको पारिश्रमिक कर, अग्रिम आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), सञ्चय कोष, नागरिक लगानी कोष, सावधिक जीवन बिमा, योगदानमा आधारित निवृत्तिभरण कोष तथा कट्टी गरिएका विभिन्न धरौटी रकमहरू अनिवार्य रूपमा सम्बन्धित बैंक खातामा दाखिला गरिसक्नुपर्नेछ।


