Banijya News

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ५ जना काठमाडौँबाट पक्राउ

1
1.1K Shares

वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पीडितहरूको उजुरीका आधारमा काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा (यूएई पठाइदिने भन्दै रु. २ लाख ७ हजार ठगी), बर्दियाका ४२ वर्षीय धनबहादुर शाही (जर्जिया पठाइदिने भन्दै रु. २ लाख ९५ हजार ठगी), ताप्लेजुङका उमेश लिम्बु (बेलारुस पठाइदिने भन्दै रु. ५ लाख ठगी), तनहुँकी २१ वर्षीया सचिता परियार (रोमानिया पठाइदिने भन्दै रु. १ लाख ५० हजार ठगी) र खोटाङका ४१ वर्षीय निरोज राई (टर्की पठाइदिने भन्दै दुई जनाबाट रु. ७ लाख ९० हजार ठगी) रहेका छन्।

रकम लिएर सम्पर्कविहीन भएका उनीहरूमध्ये कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका हुन्। पक्राउ परेका सबै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

1

Scroll to Top