नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको ठूलोभर्याङस्थित संस्कृति इन्टरनेशनल स्कुल र छाउनीस्थित सामुदायिक विद्यालय पञ्चकन्या माध्यमिक विद्यालयबीच साझेदारी भएको छ। यस गैर–व्यावसायिक सहकार्यअन्तर्गत संस्कृति स्कुलले आफ्नो अत्याधुनिक फ्याब ल्याब मा पञ्चकन्याका विद्यार्थीहरूका लागि पूर्ण रूपमा निःशुल्क विशेष कक्षाहरू सञ्चालन गर्नेछ। हालै आइतबार आयोजित पहिलो अन्तरक्रियात्मक कक्षामा विद्यार्थीहरूलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी दिनुका साथै डिजिटल फेब्रिकेसनका उपकरणहरू प्रयोग गरी सिर्जनात्मक डिजाइनको व्यवहारिक अभ्यास समेत गराइएको छ।
शैक्षिक वर्ष २०८३ भर सञ्चालन हुने यस कार्यक्रममा प्रत्येक दोस्रो आइतबार दुई घण्टाको कक्षा सञ्चालन गरिनेछ। यस अवधिमा विद्यार्थीहरूलाई थ्रीडी प्रिन्टिङ, कोडिङ, कृत्रिम बौद्धिकता , रोबोटिक्स, फोटोग्राफी तथा भिजुअल इफेक्ट्स जस्ता (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) विधाका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिनेछ। यसका साथै विद्यार्थीहरूलाई समाजका लागि उपयोगी हुने विभिन्न नवप्रवर्तनात्मक परियोजनाहरू विकास गर्न समेत प्रोत्साहन गरिनेछ।
संस्कृति इन्टरनेशनल स्कुलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस कार्यक्रमको सम्पूर्ण खर्च, आवश्यक शैक्षिक सामग्री, प्रयोगशालाको प्रयोग र विशेषज्ञ प्रशिक्षकहरूको व्यवस्थापन गर्नेछ। यस सहकार्यले सामुदायिक विद्यालयका विद्यार्थीहरूमा आधुनिक प्रविधिको पहुँच बढाउने, डिजिटल विभाजन कम गर्ने तथा २१औँ शताब्दीका लागि आवश्यक सीप, सिर्जनात्मक सोच र व्यवहारिक ज्ञानसहितका नयाँ पुस्ताका नवप्रवर्तकहरू तयार पार्ने विश्वास दुवै विद्यालयले व्यक्त गरेका छन्।


