सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कम्पनीले असार २७ गतेदेखि २०औँ वर्षमा प्रवेश गरेको अवसर पारेर केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। “रक्तदान जीवनदान–हामी सबैको योगदान” भन्ने नारासहित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
काठमाडौंको कमलादीस्थित कम्पनीको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीले २०औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृतसमेत गरेको थियो।
कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा हास्य कलाकार जितु नेपाल पनि सहभागी थिए। सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि विश्वभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ। कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सञ्चालन गर्दै आएको छ भने सिटी पेबाट रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने व्यवस्था गरेको छ।


