Banijya News

युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

1
1.0K Shares

युनाइटेड सिमेन्ट्सले धादिङको धुनिवेशी नगरपालिका–९ का बासिन्दाहरूका लागि एकदिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविरबाट कुल १४३ जना स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन् । कम्पनीले आफ्‌नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

ललितपुरस्थित मेघा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सात जना स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा जनरल फिजिसियन डा. जमाल, बालरोग विशेषज्ञ डा. दीपा खनाल तथा दन्तरोग विशेषज्ञ डा. संगीता कुमारीले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । अस्पतालकी संयोजक शिल्पा पोखरेलले स्वास्थ्य टोलीको नेतृत्व गरेकी थिइन् ।

शिविरमा ७ वर्षका बालबालिकादेखि ८५ वर्षका ज्येष्ठ नागरिकसम्मले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए । शिविरमा स्वास्थ्य परीक्षणका साथै बिरामीहरूलाई आवश्यक पर्ने औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

स्वास्थ्य परीक्षणका क्रममा अधिकांश सेवाग्राहीहरूमा ढाड, कम्मर र घुँडाको समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । धेरैजसो स्थानीयले नियमित स्वास्थ्य परीक्षण नगराउने गरेको पाइएको भन्दै चिकित्सकहरूले स्वास्थ्यप्रति सचेत रहन सुझाव दिएका थिए । शिविरमा सहभागी स्थानीयहरूले यस्ता शिविरहरू समय–समयमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका तर्फबाट सहभागीहरूलाई फलफूलको जुस र बिस्कुट समेत वितरण गरिएको थियो । कार्यक्रमको समन्वय प्रशासन प्रमुख धनपति सापकोटाले गरेका थिए भने कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेती मुख्य अतिथिका रूपमा उपस्थित थिए । महाप्रबन्धक उप्रेतीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, विद्यालय प्रतिनिधि र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

1

Scroll to Top