आगामी आर्थिक वर्ष २०८३/८४ मा तीनै तहका कार्यालयमा कार्यरत एक हजार ९८५ जना सरकारी कर्मचारी उमेर हद वा पदावधि पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। राष्ट्रिय किताबखाना निजामतीको अभिलेख प्रणालीअनुसार हाल कायम रहेको ५८ वर्षे उमेर हदका आधारमा यो विवरण तयार गरिएको हो।
अवकाश पाउनेहरूमा विशिष्ट श्रेणीका २० जना सहसचिव स्तरका ८७ जना उपसचिव स्तरका २०६ जना शाखा अधिकृत ३२० जना सहायक स्तरका ७७३ जना र श्रेणीविहीन ५७९ जना कर्मचारी रहेका छन्। एकै वर्ष ठूलो संख्यामा अनुभवी कर्मचारीहरू सेवा निवृत्त हुँदा सरकारी सेवा प्रवाह र नीति निर्माण जस्ता प्रशासनिक नेतृत्वमा केही समय जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ। अर्कोतर्फ यस बहिर्गमनले रिक्त हुने स्थानहरूमा नयाँ कर्मचारी नियुक्ति प्रक्रिया तथा कार्यरत कर्मचारीहरूको पदोन्नतिका लागि थप अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
सरकारले निजामती सेवा ऐन संशोधनको तयारी गरिरहेकाले ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेकालाई अवकाश दिने नयाँ व्यवस्था लागू भएमा यो संख्या अझै बढ्न सक्ने सम्भावना छ। यदि उक्त नयाँ प्रस्ताव पारित भएमा एकैपटक २५ हजारभन्दा बढी कर्मचारी अवकाशमा जाने अनुमान गरिएको छ जसले निजामती प्रशासनलाई थप प्रविधिमैत्री र परिणाममुखी बनाउने सुधारको चरणका रूपमा हेरिएको छ।


