Banijya News

एआई र डिजिटल प्रविधिमार्फत शेयर बजार सुधार्ने सेबोनको योजना

1
1.1K Shares

धितोपत्र बोर्ड (सेबोन) ले नेपालको शेयर बजारलाई अझ सुरक्षित, पारदर्शी र आधुनिक बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआ) र डिजिटल प्रविधिको उच्चतम् प्रयोग गर्ने दीर्घकालीन रणनीति अघि सारेको छ। बोर्डले हालै जारी गरेको ुनेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३ु मार्फत बजारको निगरानी, जोखिम व्यवस्थापन र आन्तरिक सुधारका लागि एआई भित्र्याउने योजना बनाएको हो।

यस योजनाअनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै बजारमा हुने शंकास्पद गतिविधि रोक्न स्वचालित प्रणाली जडान गरिनेछ। जसको मद्दतले भित्री कारोबार (इनसाइडर ट्रेडिङ), अस्वाभाविक शेयर कारोबार र बजारलाई अवैध रूपमा उतारचढाव गराउने खेल (मार्केट म्यानुपुलेसन) तत्कालै पहिचान गर्न सकिनेछ।

नियामकीय कामलाई चुस्त बनाउन जोखिमको पूर्वमूल्याङ्कन, नियम पालनाको अनुगमन र पूर्व-सूचना प्रणालीमा एआईको प्रयोग गरिनेछ, जसले बजारमा आउन सक्ने वित्तीय संकट वा शंकास्पद कारोबारलाई समयमै रोक्न मद्दत गर्नेछ। यसैगरी लगानीकर्ताका गुनासोहरू तुरुन्तै सम्बोधन गर्न र उनीहरूलाई प्राथमिक शेयर (आईपीओ), दोस्रो बजार, कानुनी नियम तथा वित्तीय साक्षरतासम्बन्धी जानकारी दिन एआईमा आधारित च्याटबट सञ्चालन गरिने योजना छ। सेयर बजारको गहिरो अध्ययनका लागि एआई र मेसिन लर्निङको सहयोग लिएर बजारको समग्र प्रवृत्ति, विभिन्न क्षेत्रहरूको प्रदर्शन, लगानीकर्ताको मनोविज्ञान र प्रणालीगत जोखिमहरूको विस्तृत विश्लेषण समेत गरिनेछ।

सेबोनले सन् २०३६ सम्ममा नेपालको पुँजी बजारलाई कागजविहीन (पेपरलेस), भौतिक उपस्थितिविहीन (कन्ट्याक्टलेस) र वास्तविक समय (रियल–टाइम) मा आधारित बनाउन ुडिजिटल पुँजी बजार २.० को रणनीति अघि सारेको छ। यसअन्तर्गत आईपीओ निष्कासन प्रक्रियालाई पूर्ण रूपमा अनलाइन बनाइनेछ भने डिजिटल विवरणपत्र र ई–डिस्क्लोजर प्लेटफर्म सञ्चालनमा ल्याइनेछ। लगानीकर्ताको ई(केवाईसी प्रणालीलाई राष्ट्रिय परिचयपत्र र सरकारी नेटवर्कसँग एकीकृत गरिनेछ। साथै, लगानीकर्ताले मोबाइलबाटै सम्पूर्ण सेवा लिन सक्ने गरी एउटा एकीकृत ‘क्यापिटल मार्केट मोबाइल सुपर एप’ निर्माण गरिनेछ र बोर्डको आफ्नै आन्तरिक कार्यप्रणालीलाई समेत पूर्ण रूपमा डिजिटलाइज गरिनेछ। नेपालको पुँजी बजारलाई केवल सेयर किनबेच गर्ने थलोमा मात्र सीमित नराखी देशको आर्थिक रूपान्तरणको बलियो माध्यम बनाउन यो मार्गचित्र अघि सारिएको हो।

1

Scroll to Top