Banijya News

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि सुरक्षित आवास गृह सञ्चालनमा

1
1.0K Shares

राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गतका दृष्टिविहीन बालबालिकाहरूका लागि निर्माण गरेको आधुनिक आवासीय भवनको भव्य उद्घाटन गरेको छ। काठमाडौं राउण्ड टेबल–१ का अध्यक्ष ट्र. सञ्जीव अग्रवालको नेतृत्वमा करिब नौ महिनामा सम्पन्न भएको यो परियोजना संस्थाको इतिहासकै सबैभन्दा ठूलो र प्रभावशाली सामाजिक पहल हो।

वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न दाता, सहयोगी र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। करिब १ करोड ८३ लाख रुपैयाँको लागतमा निर्मित यो भवन डोल्मा फाउण्डेशन, माज्जाली परिवार र अन्य संस्थागत तथा व्यक्तिगत दाताहरूको आर्थिक सहयोगमा तयार पारिएको हो।

एक रोपनी क्षेत्रफलमा फैलिएको यस भवनमा ४८ भन्दा बढी बालबालिकाहरू सहज रूपमा बस्न सक्नेछन्। भवनभित्र ६ वटा बस्ने कोठा, ठूलो डाइनिङ हल, सुविधासम्पन्न भान्साघर र स्नानगृहसहितका आवश्यक सम्पूर्ण पूर्वाधारहरू तयार पारिएका छन्।

यस परियोजनाको मुख्य उद्देश्य दृष्टिविहीन बालबालिकाहरूलाई सुरक्षित, सम्मानजनक र गुणस्तरीय बसोबासको वातावरण प्रदान गर्दै उनीहरूको समग्र विकासमा सघाउ पुर्‍याउनु हो। शारीरिक वा आर्थिक अवस्था जस्तोसुकै भए पनि हरेक बालबालिकाले समान अवसर पाउनुपर्छ भन्ने मान्यताका साथ निर्माण गरिएको यो भवन सामूहिक उदारता, करुणा र सामाजिक उत्तरदायित्वको एक उत्कृष्ट उदाहरण बनेको छ।

1

Scroll to Top