Banijya News

काठमाडौंमा जग्गाको सरकारी मूल्यांकन बढ्यो, प्रतिआना ७६ लाखसम्म, कुन क्षेत्रको मूल्य कति ?

1
1.0K Shares

आर्थिक वर्ष २०८३/८४ मा लागू हुने गरी काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा जग्गाको न्यूनतम मूल्यांकन बढाइएको छ । भूमि प्रशासन कार्यालयहरूले रजिस्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि नयाँ मूल्य निर्धारण गरेका छन् । नयाँ मूल्य कायम गरेसँगै उपत्यकाका प्रमुख व्यापारिक तथा आवासीय क्षेत्रको सरकारी जग्गाको मूल्य बढेको हो ।

भूमि प्रशासन कार्यालयहरूले जग्गाको न्यूनतम मूल्यांकन गर्दा सडकसँगको पहुँच, सडकको प्रकार, जग्गाको उपयोग अवस्था, क्षेत्रगत बजार मूल्य र पछिल्लो कारोबारलाई आधार बनाउने गरेका छन् । जग्गाको न्यूनतम मूल्यांकन बढेपछि अब खरिदबिक्री गर्दा देखाइने सरकारी मूल्य, रजिस्ट्रेसन शुल्क तथा सम्बन्धित करको आधार रकमसमेत प्रभावित हुने भएको छ ।

काठमाडौंका भूमि प्रशासन कार्यालय डिल्लीबजार, चाबहिल, कलंकी, टोखा र मनमैजुले नयाँ आर्थिक वर्षका लागि मूल्यांकन संशोधन गरेका छन् । भक्तपुरले भने अघिल्लो वर्षकै मूल्यलाई निरन्तरता दिएको छ भने ललितपुरका कार्यालयहरूले नयाँ मूल्यांकन सार्वजनिक गरिसकेका छैनन् ।

काठमाडौंको चाबहिल क्षेत्रअन्तर्गत पर्ने जग्गाको न्यूनतम मूल्यांकन सबैभन्दा धेरै बढाइएको छ । चक्रपथसँग जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गाको सरकारी मूल्य प्रतिआना ५ लाख ७० हजार रुपैयाँसम्म वृद्धि गरिएको छ । गत आर्थिक वर्षमा प्रतिआना ५७ लाख रुपैयाँ रहेको उक्त क्षेत्रको न्यूनतम मूल्यांकन चालू आर्थिक वर्षमा बढेर ६२ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै मित्रपार्क, कालोपुल, गौशाला चोक, रातोपुल, चाबहिल चोकदेखि पासाङ ल्हामु चोक हुँदै जोरपाटी क्षेत्रतर्फ जाने मुख्य सडकसँग जोडिएका जग्गाको मूल्यांकन पनि बढाइएको छ । यी क्षेत्रमा प्रतिआना ५० लाख ६० हजार रुपैयाँ रहेको सरकारी मूल्य बढाएर ५५ लाख ६६ हजार रुपैयाँ पुर्याइएको छ । त्यस्तै, बौद्ध स्तूपा आसपासका जग्गाको न्यूनतम मूल्यांकन पनि बढेर प्रतिआना ४८ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

डिल्लीबजार भूमि प्रशासन कार्यालयअन्तर्गत पर्ने काठमाडौंको मुख्य व्यापारिक क्षेत्रमा पनि जग्गाको न्यूनतम मूल्य बढाइएको छ । न्यूरोड, दरबारमार्ग, कान्तिपथ, जमल, इन्द्रचोक, रत्नपार्क, सुन्धारा, सिंहदरबार पश्चिम गेट, माइतीघर, पुतलीसडक, हात्तिसारलगायतका मुख्य सडकसँग जोडिएका जग्गाको सरकारी मूल्यांकन बढेर प्रतिआना ७६ लाख २० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यी क्षेत्रको मूल्यांकन ७२ लाख ६० हजार रुपैयाँ थियो । त्यस्तै, पुतलीसडक–बागबजार–रत्नपार्क तथा सभागृह आसपासका क्षेत्रको न्यूनतम मूल्यांकन पनि बढाएर ५६ लाख रुपैयाँसम्म पुर्याइएको छ ।

कलंकी क्षेत्रका जग्गाको न्यूनतम मूल्यांकन पनि बढेको छ । रिङरोडसँग जोडिएका बल्खुदेखि वनस्थलीसम्मका जग्गाको सरकारी मूल्य प्रतिआना ४९ लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ । गत वर्ष उक्त क्षेत्रको मूल्यांकन ४७ लाख रुपैयाँ थियो ।

त्यस्तै, कालिमाटी, बल्खु, सोल्टीमोड, कलंकी चोकलगायतका मुख्य सडकसँग जोडिएका जग्गाको मूल्यांकन प्रतिआना ४३ लाख रुपैयाँ तोकिएको छ ।

उता, टोखा क्षेत्रमा नारायणस्थान जाने पिच सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिवर्गमिटर ७० हजार रुपैयाँ पुगेको छ । यसअनुसार प्रतिआना मूल्य करिब २२ लाख २५ हजार रुपैयाँ पुग्छ । गत वर्ष यी जग्गाको मूल्यांकन प्रतिआना करिब २१ लाख १७ हजार रुपैयाँ थियो । यसैगरी, मनमैजु क्षेत्रमा पनि विभिन्न सडक किनारका जग्गाको सरकारी मूल्यांकन प्रतिआना २० लाख रुपैयाँबाट बढाएर २२ लाख रुपैयाँ पुर्याइएको छ ।

1

Scroll to Top