अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रलाई स्वदेशी उत्पादनमार्फत आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न उद्योग क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा आज मंगलबार उद्यमीहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको नेपालको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यमा पुनःस्थापित गर्नुपर्ने बताएका छन् । उनले निजी क्षेत्रले गरेको लगानी सुरक्षित हुने, उचित प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएकाले उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको अर्थमन्त्री वाग्लेले बताए । उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरू तीव्र गतिमा कार्यान्वयन भइरहेको जानकारी दिए । यसका लागि आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध रूपमा अघि बढाइने बताएका छन् ।
यसैगरी, पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार गर्ने र लगानीको वातावरण सुदृढ बनाउने काम समानान्तर रूपमा अघि बढिरहेको उनले प्रष्ट पारे ।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले भने, ‘आजको बैठकलाई नियमित छलफलका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको नयाँ चरण प्रारम्भ गर्ने साझा कार्यशालाका रूपमा अगाडि बढाऔँ । नेपाललाई अधिकतम लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्र बनाउनेतर्फ अगाडि बढाऔँ ।’
त्यस्तै, निजी क्षेत्रमा देखिएका लगानीका अवरोध हटाउने प्रतिबद्धता दोहोर्याउँदै आत्मविश्वासका साथ लगानी गर्न, उत्पादन बढाउन, उद्योग विस्तार गर्न, नयाँ उद्यम सुरु गर्न र रोजगारी सिर्जना गर्न उद्यमीहरूलाई आग्रह गरेका छन् । साथै, लगानी, उत्पादन र उत्पादकत्वमार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्नु सरकार र निजी क्षेत्रको साझा लक्ष्य रहेको उनको भनाइ छ ।


