Banijya News

सहिद घोषणा साथै एनसेल सेयर प्रकरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

1
1.0K Shares

सरकारले हालैको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । गृह मन्त्रालयको प्रस्तावमा चार जनालाई सहिद घोषणा गरिएको हो ।

सार्वजनिक चासोको विषय बनेको एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो ।

यसैगरी, सरकारले स्वास्थ्य सेवा विस्तार र विद्युतीय सवारीको प्रयोग प्रोत्साहन गर्ने उद्देश्यले विद्युत्‌बाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा कर छुट दिने निर्णयसमेत गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा आयात हुने वा स्वदेशमै उत्पादन हुने विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार विकास शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय भएको हो ।

यसैगरी, मन्त्रिपरिषद्ले बाराका निर्मलकुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

साथै, बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्न अनुमति दिने निर्णयसमेत गरेको छ ।

प्रवक्ता पोखरेलका अनुसार प्रधानमन्त्री बालेन शाहको आगामी विदेश भ्रमण तथा छिमेकी मुलुकका उच्च अधिकारीहरूको सम्भावित नेपाल भ्रमणका विषयमा सम्बन्धित मन्त्रालयहरूले आवश्यक प्रोटोकल र तयारीअनुसार काम गरिरहेका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक नियुक्ति, कर सहुलियत, कूटनीतिक विषय तथा सार्वजनिक चासोका प्रकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो ।

1

Scroll to Top