Banijya News

लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, ऋणीको पुनर्स्थापनादेखि कर्जा असुलीको शैली सुधारसम्म

1
1.1K Shares

लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर समस्यामा परेका ऋणीका गुनासा सम्बोधन गर्न सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनबीच ७ बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा भएको वार्तापछि भएको सहमतिले लामो समयदेखि उठ्दै आएको कर्जा समस्या, कालोसूची, धितो लिलाम, ऋण असुलीको व्यवहार र कमजोर ऋणीको पुनर्स्थापनाजस्ता विषयलाई नीतिगत रूपमा सम्बोधन गर्ने बाटो खोलेको छ।

सहमतिको सबैभन्दा महत्वपूर्ण पक्ष लघुवित्त क्षेत्रका समग्र समस्या अध्ययन गर्न उच्चस्तरीय समिति गठनको सिफारिस हो। समितिले लघुवित्त संस्थाका सदस्य तथा ऋणीका समस्या पहिचान गरी समाधानका उपाय सुझाउनेछ। जनमुखी मौद्रिक नीति, सेवामूलक तथा सामाजिक बैंकिङको अवधारणा, वित्तीय साक्षरता तथा बैंकिङ कसुरसम्बन्धी कानुनी सुधारलाई समेत अध्ययनको दायरामा राखिएको छ। यसले तत्कालका गुनासो मात्र होइन, लघुवित्त क्षेत्रको वर्तमान संरचनामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता स्वीकार गरेको देखिन्छ।

लघुवित्तबाट ऋण लिएर आर्थिक संकटमा परेका ऋणीका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने विषय पनि सहमतिमा समेटिएको छ। विशेषगरी आम्दानीको स्रोत कमजोर भएका र कर्जा तिर्न सक्ने अवस्था नरहेका ऋणीलाई केवल असुलीको दबाब दिनुभन्दा उनीहरूको आर्थिक पुनरुत्थानमा जोड दिने नीति आवश्यक देखिएको छ। यसका लागि वास्तविक पीडित र जानाजानी कर्जा नतिर्ने ऋणीबीच स्पष्ट पहिचान गर्नु भने चुनौतीपूर्ण हुनेछ।

कालोसूची र धितो लिलामसम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने सहमतिले ऋणीका लागि अर्को महत्वपूर्ण राहतको सम्भावना देखाएको छ। त्यस्तै, कर्जा मिनाहाको मागलाई भावनात्मक निर्णयका रूपमा अघि बढाउनुको सट्टा तथ्याङ्क विश्लेषण गरी कार्यान्वयन गर्न सकिने विकल्पसहित प्रतिवेदन तयार गर्ने भनिएको छ। यसले ऋण मिनाहाको विषयलाई वित्तीय अनुशासन र सामाजिक न्यायबीच सन्तुलन कायम गरेर हेर्ने संकेत गरेको छ।

आर्थिक रूपमा असक्षम ऋणीको कर्जा सुरक्षण तथा जीवन बीमाको अवस्था जाँच गरी आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि गरिएको छ। यदि ऋणीको कर्जा सुरक्षण कोष वा बीमाबाट सुरक्षित भएको अवस्थामा त्यसको लाभ वास्तविक पीडितसम्म पुर्‍याउन सके कर्जा असुलीको दबाब घटाउन सकिनेछ।

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा टोलफ्री हटलाइन सञ्चालन गर्ने विषय पनि समेटिएको छ। यसले ऋणी र वित्तीय संस्थाबीचको विवाद समाधानका लागि औपचारिक माध्यम बलियो बनाउन सक्छ। तर, गुनासो संकलन मात्र होइन, त्यसको समयमै छानबिन र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण हुनेछ।

सहमतिको अर्को महत्वपूर्ण पक्ष ‘घ’ वर्गका लघुवित्त संस्थाका लागि जारी सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८१ को पूर्ण कार्यान्वयन हो। नियमावली र निर्देशन कागजमा सीमित नभई संस्थाहरूको व्यवहारमै लागू गराउन नेपाल राष्ट्र बैंकको कडा सुपरिवेक्षण आवश्यक पर्नेछ।

 

सहमतिका ७ बुँदा जस्ताको त्यस्तै

१. लघुवित्त वित्तीय संस्थाका सदस्य/ऋणीसँग सम्बन्धित समस्या निराकरणका लागि आवश्यक अध्ययन गरी सुझाव दिन उच्चस्तरीय लघुवित्त वित्तीय संस्थाका समस्या समाधान समिति (जनमुखी मौद्रिक नीति, सेवामूलक र सामाजिक बैंकको अवधारणा, वित्तीय साक्षरता, बैंकिङ कसुर ऐन, २०६४ को संशोधन लगायतका विषय) गठन गर्न सिफारिस गर्ने । समितिको कार्यादेश बनाउँदा सरोकारवाला समूहबाट नछुटाई सुझाव लिने।

२. समस्यामा परेका लघुवित्त ऋणीहरुको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन एवं कालोसूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन तथा कर्जा मिनाहा सम्बन्धी मागका विषयमा तथ्याङ्क विश्लेषण गरी उपयुक्त कार्यान्वयनयोग्य विकल्प सहित प्रतिवेदनमा सिफारिस गर्ने।

३. लघुवित्त संस्थाका विपन्न, समस्याग्रस्त र परिस्थितिजन्य हिसाबले आर्थिक रुपमा असक्षम ऋणीको हकमा निजले लिएको कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षित गरेको वा ऋणीको जीवन बीमा गरेको अवस्था यकिन गरी कार्यान्वयन गर्न सम्बन्धित लघुवित्त संस्थालाई आवश्यक निर्देशन दिने ।

४. लघुवित्त सम्बन्धी समस्या र गुनासोको प्रभावकारी व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागमा टोलफ्री हटलाइनको व्यवस्था सहित अन्य माध्यमबाट लघुवित्त पीडितका गुनासोको सम्बोधन गर्ने ।

५. “घ” वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सञ्चालन मार्गदर्शन, २०८१ को पूर्ण कार्यान्वयन गर्ने र सो को नेपाल राष्ट्र बैंकले कडाइका साथ अनुगमन गर्ने ।

६. लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कार्यहरुका सम्बन्धमा पीडितले तत्काल जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने र कानून विपरीतका कार्यहरु उपर प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने ।

७. लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन, नेपालको तर्फबाट राजधानी केन्द्रित सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु आजैको मितिदेखि स्थगन गर्ने ।

1

Scroll to Top